काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा विपक्षी दलका नेताहरूले संसद्लाई सरकारको कठपुतली बनाउन लागिएको भन्दै सभामुख अर्यालको ध्यानाकर्षण गराएका छन् ।
संसद्लाई सरकारको कठपुतली बनाएर हात्तीको देखाउने दाँत जस्तै बनाउने प्रयास भइरहेको छ । सबै काम कार्यकारीबाट भइरहेको छ’, नेकपा एमाले प्रमुख सचेतक ऐन महरले भने, ‘यसैका विषयमा सभामुखको ध्यानाकर्षण गराएका छौँ ।
उनले आजको बैठकमा बोल्ने समय नै नराखिएको तथा नीति तथा कार्यक्रममाथि एक दिन मात्र छलफल राखिएकोमा सभामुखसँग आपत्ति जनाएको बताए ।
‘आज हामीले आकस्मिक समय माग गरेका छौँ । आकस्मिक समय नभए ढ्यापढ्यापे समय लिएर विपक्षीका तर्फबाट बोल्छौँ । यदि समय नदिए उभिएर बस्छौँ’, महरले बहिस्कारलगायतका अन्य गतिविधि भने नगर्ने जनाए ।