वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाप्रति असन्तुष्ट बनेका पर्साका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्।
पर्साको पकाहा मैनपुर गाउँपालिका–२ मधुबनी घर भएका शनि पटेल वीरगञ्जमा बस्दै अध्ययन गर्दै आएका थिए। सोमबार सार्वजनिक भएको एसईई नतिजापछि उनी मानसिक तनावमा रहेको प्रारम्भिक रूपमा बुझिएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारीअनुसार, नतिजाप्रति असन्तुष्टि जनाउँदै उनले आत्मघाती कदम चालेका हुन्। घटनापछि परिवार तथा आफन्त शोकमा डुबेका छन्।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। साथै, विद्यार्थी तथा अभिभावकलाई परीक्षा परिणामलाई लिएर अत्यधिक तनावमा नपर्न र मानसिक रूपमा कमजोर महसुस भएमा परिवार, साथीभाइ वा सम्बन्धित निकायसँग परामर्श लिन आग्रह गरिएको छ।