पोखरा, कास्की । पोखरा महानगरपालिका निवासी तथा नेकपा (एमाले) का इमान्दार कार्यकर्ता खेम बहादुर पुनले आफूविरुद्ध पछिल्ला दिनहरूमा सञ्चार माध्यमहरूमा सार्वजनिक भएको अडियोप्रति कडा आपत्ति जनाएका छन्।
एक प्रेस विज्ञप्ति मार्फत पुनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग भुमि आयोग कास्किको अध्यक्ष पदमा नियुक्ति गराइदिनको लागि घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
उनका अनुसार नेकपा एमाले गण्डकी प्रदेश कमिटीले उक्त पदका लागि उनको नाम सिफारिस गरे पनि, आफूले कुनैपनि भेटघाट वा लेनदेन नगरेको स्पष्ट गरेका छन्। पुनले भनेका छन्, "म निम्न वर्गको व्यक्ति हुँ, पैसा दिएर पद लिने न मेरो हैसियत छ, न इच्छा।"
पुनले उक्त अडियो ए.आई. प्रविधिको दुरुपयोगमार्फत बनाइएको नक्कली सामग्री भएको दाबी गरेका छन्। उनले यस्तो गलत प्रवृत्तिबाट मन्त्री गुप्ता र आफूलाई बदनाम गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
"एउटा इमान्दार कार्यकर्ताको चरित्र हत्या गर्न संगठित गिरोहले नियोजित रूपमा यस्तो चाल चलिरहेको देखिन्छ," उनले भनेका छन्।
प्रेस विज्ञप्तिमार्फत पुनले उक्त अडियोको फरेन्सिक तथा प्राविधिक परीक्षण गरी सत्यता सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेका छन्। साथै उनले सम्बन्धित निकायलाई घटनाको अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न आग्रह गरेका छन्।
