पोखरा, कास्की । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्तासँग घुस लेनदेन सम्बन्धी सार्वजनिक अडियोमा आफ्नो नाम जोडिएकोप्रति आदिवासी जनजाति महासंघ गण्डकीका महासचिव सुजन लामाले गम्भीर आपत्ति जनाएका छन्।
विगत केही दिनदेखि मन्त्री गुप्तासँग कर्मचारी सरुवा र भूमि आयोग कास्किको अध्यक्ष पदमा नियुक्तिसम्बन्धी अडियो विभिन्न सञ्चार माध्यम र अनलाइन प्लेटफर्महरूमा सार्वजनिक भएपछि उनले प्रेस विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
प्रेस विज्ञप्तिमा लामाले आफू आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान अन्तर्गतका कार्यक्रमहरूमा सामूहिक रूपमा मन्त्री गुप्तासँग एक–दुईपटक मात्र भेट भएको स्पष्ट पारेका छन्। उनले भनेका छन्, "मैले कहिल्यै मन्त्री ज्यूको निवासमा व्यक्तिगत रूपमा भेटघाट गरेको छैन, न त कुनै सरुवा वा नियुक्तिका लागि अनुरोध वा दबाव नै दिएको छु।"
उनले आफूलाई बदनाम गर्न ए.आई. प्रविधिको दुरुपयोग गरी नक्कली अडियो तयार पारिएको दाबी गरेका छन्। यस्तो अडियोमार्फत मन्त्री गुप्तासहित आफूलाई बदनाम गराउने नियतसहित संगठित अपराधीहरूको संलग्नता रहेको उनको भनाइ छ।
सुजन लामाले सार्वजनिक भएको अडियोको फरेन्सिक परीक्षण गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन्। साथै, सम्बन्धित निकायहरूले निष्पक्ष रूपमा अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्नेमा उनको जोड छ।
"यदि जाँचवुझबाट म दोषी ठहरिन्छु भने जुनसुकै कानुनी सजाय भोग्न तयार छु," उनले उल्लेख गरेका छन्।
