पोखरा , कास्की । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग जोडिएको भनिएको घुस लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि नेकपा (एमाले) गण्डकी प्रदेशका इमान्दार कार्यकर्ता खेम बहादुर पुन र आदिवासी जनजाति महासंघ गण्डकीका महासचिव सुजन लामाले त्यसप्रति गम्भीर आपत्ति जनाउँदै स्पष्टिकरण दिएका छन्।
एक प्रेस विज्ञप्तिमार्फत खेम बहादुर पुनले पोखरा महानगरपालिका निवासीको हैसियतले आफूविरुद्ध सञ्चार माध्यम र अनलाइन प्लेटफर्ममार्फत चरित्र हत्या गर्ने नियोजित प्रयास भएको बताएका छन्। उक्त अडियोमा आफूले मन्त्री गुप्तासँग भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि आर्थिक लेनदेन गरेको देखाइएको भए तापनि, उनले यस्तो कुनै पनि भेटघाट वा लेनदेन नभएको प्रस्ट पारेका छन्।
"म निम्न वर्गको व्यक्ति हुँ। पैसा दिएर पद लिने हैसियत र इच्छा दुबै छैन," भन्दै पुनले उक्त अडियो एआई प्रविधिको दुरुपयोग गरी बनाइएको नक्कली सामग्री भएको दाबी गरेका छन्। उनले यस्तो गलत प्रवृत्तिबाट आफू र मन्त्री गुप्ताको चरित्र हत्या गर्न खोजिएको भन्दै फरेन्सिक परीक्षणमार्फत सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्।
यसैबीच, सार्वजनिक भएको अडियोमा आफ्नो नाम जोडिएकोप्रति आदिवासी जनजाति महासंघ गण्डकीका महासचिव सुजन लामाले पनि प्रेस विज्ञप्तिमार्फत गम्भीर आपत्ति जनाएका छन्।
उनले मन्त्री गुप्तासँग विगतमा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान अन्तर्गत सामूहिक रूपमा मात्र भेट भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा कहिल्यै भेटघाट नगरेको स्पष्ट पारेका छन्।
"मन्त्री निवासमा कहिल्यै गएको छैन, न सरुवा, न नियुक्तिका लागि कुनै सिफारिस वा दबाव दिएको छु," भन्दै लामाले पनि उक्त अडियो नक्कली भएको र एआई प्रविधिको प्रयोगबाट नियोजित रूपमा तयार पारिएको बताएका छन्।
लामाले फरेन्सिक परीक्षणमार्फत सत्यता बाहिर ल्याउन र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेका छन्। साथै, आफू निर्दोष सावित नभए कानुनी सजाय भोग्न तयार रहेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
दुवै पक्षद्वारा जारी विज्ञप्तिमा संगठित रूपमा चरित्र हत्या गर्ने प्रवृत्तिको अन्त्य गर्न राज्य संयन्त्रले प्रभावकारी रूपमा हस्तक्षेप गर्नु आवश्यक रहेको धारणा राखिएको छ।
