अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई निरन्तर धम्की दिइरहेका छन् । हालैका दिनमा भारत–अमेरिका व्यापार सम्झौताबारे निकै सकारात्मक अपडेटहरू दिएका ट्रम्पले अचानक भारतमाथि २५ प्रतिशतको उच्च भन्सार कर लगाइदिए । यति मात्र होइन, उनले रूसबाट तेल र हतियार खरिद जारी राखेमा थप जरिवाना बेहोर्नु पर्ने धम्की पनि दिएका छन् ।
रूसी तेल आयातमा भारतको अडानपछि अमेरिका भित्रिने भारतीय सामानमा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लगाउने धम्की हरेक दिन सुनिँदै आएको छ । एक पटक त ट्रम्पले भारतीय अर्थतन्त्रलाई ‘मरेको अर्थतन्त्र’ समेत भने । भारतसँग ट्रम्प चिढिनुको कारण उसले रूससँग कच्चा तेल किन्नु मात्रै हैन, अरू धेरै छन् । यस्ता छन् कारणः
रुससँग व्यापार वृद्धि
युक्रेनसँग रुसको युद्धलाई रोक्न ट्रम्पले आफूले सक्ने सबै उपाय अपनाइसकेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उच्च कर लगाउने धम्की पनि दिएका छन् । तर यसको कुनै प्रभाव देखिएको छैन । त्यसपछि ट्रम्पले रुससँग व्यापार गर्ने देशहरूलाई निशाना बनाउन थाले । यसमा भारत पनि पर्छ । यी संकेतहरू गत महिना नेटो महासचिव र ट्रम्पको बैठकपछि आएको थियो । त्यतिवेला ट्रम्पले रुसलाई ५० दिनमा युक्रेनसँगको युद्ध समाप्त गर्न समयसीमा दिएका थिए ।
यसपछि नेटो महासचिव मार्क रुटले भारत, चीन र ब्राजिललाई रुससँग व्यापार गर्दा भारी कर लगाउने स्पष्ट चेतावनी दिएका थिए । अब ट्रम्पले २५ प्रतिशतको ट्यारिफ लगाएर ट्यारिफ अरू बढाउन बारम्बार धम्की दिइरहेका छन् ।
भारतले रुससँग तेल मात्रै होइन, हतियार पनि किन्छ । भारतमा रुसी आयात तीव्र गतिमा बढेको छ । ट्रम्पलाई यही कुराले चिन्तित पारेको हो । ठुलो मात्रामा रुसी तेल खरिद गरेर भारतले युक्रेनसँग युद्ध जारी राख्न रुसलाई मद्दत गरिरहेको अमेरिका ठान्छ । हालै, अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले पनि भारतले रुसी तेल किनेर युक्रेनमा युद्ध जारी राख्न मद्दत गरिरहेको भनेर भनेका थिए । उनले यसलाई भारत–अमेरिका सम्बन्धमा तनावको प्रमुख कारण बताएका थिए ।
ब्रिक्सको भय
ट्रम्प आतंकित हुनुको दोस्रो प्रमुख कारण ब्रिक्स हो । यसको संस्थापक देशहरूमा भारत पनि पर्छ । ट्रम्पले ट्यारिफ युद्ध सुरु गरेपछि ब्रिक्सलाई प्रत्यक्ष रूपमा निसाना बनाएका थिए । यो समूहमा रहेका देशहरूबाट अमेरिका आउने सामानमा १० प्रतिशतको अतिरिक्त शुल्क लगाउने पनि भनेका थिए । ब्रिक्स विश्वको उदीयमान अर्थतन्त्रहरूको समूह हो । यसका संस्थापक सदस्यहरूमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका छन् ।
२००९ मा ब्रिक्सको स्थापना भएको हो । २०२४ को जनवरी १ मा इरान, इजिप्ट, इथियोपिया, इन्डोनेसिया र संयुक्त अरब इमिरेट्स (यूएई) पनि यसमा सामेल भए ।
ब्रिक्सका संस्थापक सदस्य देशमध्ये आर्थिक रूपमा बलियो रूस र चीनले आपसमा आफ्नो मुद्रामा व्यापार गर्दै आएका छन् । सन् २०२२ मा रुसले ब्रिक्स देशहरूका लागि अन्तर्राष्ट्रिय मुद्रा पनि प्रस्ताव गरेको थियो । अन्तर्राष्ट्रिय व्यापारमा डलरमाथि निर्भरता कम गर्न ठुला देशहरूको तयारी अमेरिकाको प्रभुत्वको लागि ठुलो खतरा साबित हुन सक्छ, यो ट्रम्पको चिन्ताको कारण हो । जसका कारण उनी भारतसहित अन्य ब्रिक्स सदस्यहरूमाथि कर्के नजर राखिरहेका छन् ।
यस वर्ष अमेरिकी मुद्रा डलरमा आएको तीव्र कमी र पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा आएको सुस्तीले ट्रम्पको डरलाई अझ बढाएको छ । केहीअघि ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै ब्रिक्सको अमेरिकाविरोधी नीतिलाई समर्थन गर्ने कुनै पनि देशबाट आउने सामानमा अमेरिकामा १० प्रतिशतको अतिरिक्त कर लगाइने र यस नीतिमा अमेरिकाले कुनै पनि छुट नदिने भनेका थिए ।
ट्रम्पको मागलाई भारतले ‘नाइँ' भन्नु
ट्रम्प भारतसँग रिसाउनुको अर्को कारण ट्रम्पले अनेक प्रयास गर्दा पनि भारतले आफ्नो अडान नछाड्नु हो । दुई पक्षबिच यति धेरै छलफल भइरहेको भए पनि भारत अमेरिका व्यापार सम्झौता निष्कर्षमा पुग्न सकेको छैन । ट्रम्पले अमेरिकी कृषि र दुग्ध उत्पादनहरूका लागि भारतीय बजार खोल्न र शुल्क घटाउन माग गरिरहेका छन् ।
तर भारत सरकारले स्पष्ट रूपमा देशका किसानहरूको हितमा सम्झौता गरेर कुनै पनि सम्झौता पूरा नहुने भनिरहेको छ । त्यसपछि भारतप्रति ट्रम्पको रवैयामा परिवर्तन देखिएको छ ।