वीरगंज । नेपाल शिक्षक महासंघ जिल्ला समिति पर्साले वीरगंज-२१, सुखचैनास्थित नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका सदस्यलाई प्रहरीले हिरासतमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त विद्यालयमा गत चैत ४ गते बुधबार भएको घटना दुःखद र दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेको छ। सोही घटनाको सिलसिलामा चैत १० गते प्रहरीले विद्यालयका प्रधानाध्यापक र विव्यस सदस्यलाई नियन्त्रणमा लिएको कार्यप्रति महासंघले कडा आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, "हिरासतमा राखिएका प्रधानाध्यापक र विव्यस सदस्यहरूलाई अविलम्ब मुक्त गरी निष्पक्ष अनुसन्धान नगरिए नेपाल शिक्षक महासंघ जिल्ला समिति पर्सा कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछ।"
महासंघका जिल्ला अध्यक्ष तीर्थराज प्रसाद यादव र सचिव विनोद गिरीद्वारा हस्ताक्षरित उक्त विज्ञप्ति मार्फत प्रशासनलाई आफ्ना मागहरू बेलैमा सम्बोधन गर्न सचेत गराइएको छ।
