नेपाल पत्रकार महासंघ पर्सा शाखाले वरिष्ठ पत्रकार तथा शाखाका पूर्व अध्यक्ष ईश्वरचन्द्र गौतमलाई “सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२” प्रदान गरेको छ। पत्रकारितामा व्यावसायिकता, विश्वसनीयता तथा संस्थागत सुदृढीकरणमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ।
दीर्घकालदेखि सक्रिय पत्रकारितामार्फत समाजमा सकारात्मक प्रभाव पार्दै आएका गौतमलाई उनको निवासमै पुगेर सम्मान गरिएको हो। स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि महासंघको टोली वीरगञ्ज महानगरपालिका–कुम्हालटोलस्थित निवासमै पुगेर पुरस्कार हस्तान्तरण गरेको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षता तथा हरि पन्तको प्रमुख आतिथ्य रहेको थियो। सो अवसरमा महासंघका केन्द्रीय पूर्व सचिव दिपेन्द्र चौहान, केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, सदस्यहरू राहुल गुप्ता, रितेश त्रिपाठी, समाजसेवी कमल चौलागाईँलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शाखा सचिव विजय चौहानले गरेका थिए।
सम्मान ग्रहण गर्दै गौतमले स्वर्गीय सुदर्शन पाण्डे एक निडर तथा सत्यप्रति प्रतिबद्ध पत्रकार रहेको स्मरण गरे। उनले सत्य तथ्यलाई जनतामाझ ल्याउने पाण्डेको योगदान उल्लेखनीय रहेको बताउँदै आफ्नो सम्मानप्रति आभार व्यक्त गरे।
कार्यक्रममा बोल्दै केन्द्रीय सचिव अशोक तिवारीले स्वर्गीय सुदर्शन पाण्डे निर्भीक र सत्यनिष्ठ पत्रकारका रूपमा परिचित रहेको उल्लेख गर्दै उहाँले सबैको कुरा सुनेर अन्त्यमा आफ्ना धारणा स्पष्ट रूपमा प्रस्तुत गर्ने विशेषता रहेको बताए। उनले गौतमलाई उक्त पुरस्कार प्रदान गर्न पाउँदा खुसी लागेको पनि व्यक्त गरे।
अध्यक्ष खनालले उक्त पुरस्कार भदौ २७ गते नै वितरण गर्ने कार्यक्रम रहे पनि त्यसबेला देशमा भएको आन्दोलनका कारण स्थगित भएको र अहिले पुनः आयोजना गरी वितरण गरिएको जानकारी दिए। साथै, छोटो सूचनामै उपस्थित भई कार्यक्रम सफल बनाएकोमा सबैप्रति धन्यवाद ज्ञापन गरे।