पर्सा । पर्सागढी नगरपालिका–६ का वडा अध्यक्ष नवलकिशोर कलवार विकास कार्यभन्दा पनि निरन्तर कुटपिट घटनामा संलग्न रहँदै विवादमा परेका छन्। तीन वर्षको कार्यकालमै उनले “कुटाइको रेकर्ड” कायम गरेको भन्दै स्थानीय बासिन्दाबीच चर्चा चुलिएको छ।
हालै जिल्ला अदालत पर्साको गेटमा सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गरेको मुद्दामा थुनामा परेका अध्यक्ष कलवार हिजो फेरि नगरपालिकाको कार्यालयमै कुटाइ खान पुगेका छन्। कार्यालयमा प्रवेश गरेपछि उनले राष्ट्र सेवक कर्मचारीसँग गालीगलौज गर्दै अभद्र व्यवहार थालेपछि कर्मचारी र उनीबीच हात हालाहाल (कुटाकुट) भएको बताइएको छ।
यसअघि पनि कलवारले वडा कार्यालयभित्रै वडा सदस्यसँग झगडा गर्दै कुटपिट गरेका थिए। स्थानीय बासिन्दाका अनुसार, कलवार आफूलाई ‘बाहुबली’ ठान्दै गुण्डा शैलीमा कुरा गर्ने गरेका छन्। उनी निर्वाचित जनप्रतिनिधि भएकाले विकास र सेवाप्रदानमा ध्यान दिनुपर्नेमा, पटक–पटक विवादास्पद घटनामा संलग्न रहँदा उनको आचरण प्रश्नवाचक बनेको स्थानीयको भनाइ छ।
घटनाबारे छानबिन गरी जनप्रतिनिधिको आचरण सुधार्न पहल गर्नुपर्ने माग स्थानीयहरूले गरेका छन्।
वडा अध्यक्ष कलवारसँग घटनाबारे बुझ्दा उनले कुटपिट भएको स्वीकार गर्दै, “मैले पनि कुटे, बाँकी कुरा भेटेर गर्छु,” भनी फोन काटिदिएका छन्।