पर्सा । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला कमिटीले आयोजना गरेको “वर्तमान राजनीतिक परिस्थिति” विषयक अन्तरक्रिया कार्यक्रममा पार्टीप्रतिको बेवास्ता गरेको आरोपसहित जिल्ला नेतृत्वको राजीनामा माग चर्को रूपमा उठेको छ।
सभा हलमा उपस्थित नेता तथा कार्यकर्ताहरूले एमाले पर्सा जिल्ला कमिटी इन्चार्ज प्रभु हजारा, जिल्ला अध्यक्ष विश्मबर शर्मा र जिल्ला सचिव महेश दासले पार्टीका पक्षमा कुनै ठोस काम नगरेको भन्दै तत्काल पदत्याग गर्नुपर्ने माग गरे।
कार्यकर्ताहरूले तीन नेतामाथि पार्टीप्रतिको जिम्मेवारी नबहन गरेको मात्र नभई व्यक्तिगत स्वार्थमा रमाएको, कार्यकर्ताहरूसँग समन्वय नगरेको, आन्दोलन र संकटको बेला नेतृत्वविहीन बनाएको जस्ता आरोपहरू लगाए।
एक सहभागी कार्यकर्ताले भने, “पार्टी गम्भीर संकटमा हुँदा इन्चार्ज, अध्यक्ष र सचिव आफ्ना स्वार्थ हेरेर मौन बसे। कार्यकर्ताको दुख–पीडा बुझ्ने वा आवाज उठाउने काम नगरी उनीहरूले संगठनलाई मात्र होइन, पार्टीलाई समेत कमजोर बनाएका छन्।”
देशभर फैलिएको जेन–जेड (Gen Z) आन्दोलनका क्रममा भएको जनधनको क्षति, पार्टी कार्यालय तथा कार्यकर्तामाथि भएको आक्रमणप्रति जिल्लास्तरीय नेताहरू मौन बस्नु नेतृत्वविहीनता भएको सहभागीहरूले बताए। आन्दोलनपछि भएको पहिलो औपचारिक बैठकमै इन्चार्ज, अध्यक्ष र सचिव अनुपस्थित रहनुले उनीहरूको पार्टीप्रतिको संवेदनशीलता शून्य भएको आरोप लगाइयो।
अर्का एक कार्यकर्ताले भने, “जिल्ला कमिटीका नाममा पद ओगटेर बस्ने मात्र हो भने त्यसले पार्टीलाई अझै संकटमा धकेल्छ। त्यस्ता नेताले तत्काल राजीनामा दिनुपर्छ।”
कार्यक्रममा उपस्थित एमाले केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री राजकुमार गुप्ताले कार्यकर्ताहरूको आक्रोशलाई सम्बोधन गर्दै संगठनभित्र उत्पन्न असन्तुष्टि समाधान गर्न नेतृत्व तह गम्भीर बन्नुपर्नेमा जोड दिए। उनले भने, “पार्टीकै पक्षमा सबै कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्छ। विचार र मतभेद स्वाभाविक भए पनि पार्टीलाई सुदृढ बनाउन संवाद र एकताको बाटो रोज्नुपर्छ।”
अन्तरक्रिया कार्यक्रममा एमाले केन्द्रीय सदस्य अरविन्द सिंह, मधेश प्रदेश कमिटी सचिव मनोज पौडेल, केन्द्रीय सल्लाहकार समिति सदस्य जालिम मियाँ, नेता प्रह्लाद गिरी, जयप्रकाश थारु, सलाउँदिन अहमद लगायतको उपस्थिति थियो। उनीहरूले पनि पर्सा जिल्लामा उत्पन्न असन्तोषलाई चाँडै समाधान गर्दै पार्टीलाई बलियो बनाउन सबै तहका नेताहरू जिम्मेवार बन्नुपर्ने धारणा राखे।
कार्यक्रमले पर्सा जिल्लामा पार्टी नेतृत्वप्रति देखिएको असन्तोषलाई सतहमा ल्याएको छ। इन्चार्ज, अध्यक्ष र सचिवमाथि जिम्मेवारीहीनता, मौनता र स्वार्थीपनका आरोप लगाउँदै कार्यकर्ताहरूले राजीनामा माग गरेका छन्। अब यस विषयलाई प्रदेश र केन्द्रीय नेतृत्वले कसरी सम्बोधन गर्छ भन्ने कुरा जिल्लाभर चासोको विषय बनेको छ।