पर्सा । पकहाँमैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताको हठ, आर्थिक लोभ र गैरजिम्मेवारीपनका कारण पालिकाका कर्मचारीहरू दशैंमा समेत तलब पाउन असफल भएका छन् । हिन्दूहरूको महान चाड दशैंको मुखमा समेत तलब नपाउँदा कर्मचारीहरू मानसिक र आर्थिक रूपमा चर्को संकटमा परेका छन् ।
करिब दुई महिना अघि भएको सभाअनुसार वडा अध्यक्षहरूले ८० लाखसम्मको बजेट ल्याउने निर्णय भए पनि गाउँपालिका अध्यक्ष मेहताले खाता सञ्चालन नगरेका कारण कर्मचारीहरूलाई तलब दिने प्रक्रिया रोकिएको हो । वडा अध्यक्षहरूले पटक–पटक दवाव दिए पनि मेहताले खाता खोल्न अस्वीकार गर्दै आफ्नै स्वार्थअनुकूल योजना नआएसम्म खाता सञ्चालन नगर्ने अडान लिएका छन् ।
हिजो बसेको पालिकाको बैठकमा समेत अध्यक्ष मेहताले ३ करोड ५० लाखको योजना आफूलाई अपूरो भएको दाबी गर्दै खाता नखोल्ने ठाडो निर्णय सुनाएका थिए । उनले आन्तरिक स्रोतबाट चल्न सक्ने १ करोडसम्मको योजनालाई बेवास्ता गर्दै आफूलाई कम्तीमा १५ करोडको योजना प्राप्त नभएसम्म खाता सञ्चालन नगर्ने अडान लिएका छन् ।
बैठकका क्रममा उनले प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहमाथि समेत गालीगलौज र अशोभनीय व्यवहार गरेको वडा अध्यक्षहरूले आरोप लगाएका छन् ।
यसरी पालिकाको प्राविधिक र प्रशासनिक काम ठप्प पारेर कर्मचारीलाई दशैंमा समेत तलबविहीन बनाउनु अध्यक्ष मेहताको स्वेच्छाचारी निर्णय र गैरजिम्मेवारीपनको प्रत्यक्ष उदाहरण भएको स्थानीयवासीको भनाइ छ ।