वीरगञ्ज । वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा खुलेआम भइरहेको भ्रष्टाचार र बिचौलियाको बादशाहीबारे निरन्तर समाचार सार्वजनिक भइरहे पनि कार्यालय प्रमुख कुशेश्वर साह र मोटरसाइकल फाँट प्रमुख प्रेम कार्की मौन बसिरहेको सेवाग्राहीहरूले आरोप लगाएका छन्।
ढडा निकाल्ने जिम्मेवारी पाएका कार्यालय सहयोगी गौरीशंकर माली (भगत) र चन्द्रमा सिंहले आफ्ना पाँच बिचौलियामार्फत दैनिक लाखौँ रुपैयाँ असुली गर्दै आएका छन्। यसबारे प्रमाण सार्वजनिक भइरहँदा समेत प्रमुख साह र फाँट प्रमुख कार्कीले कुनै कारबाही नगरी मौन धारण गरेको देखिएको छ। सेवाग्राहीहरूको भनाइमा, “प्रमुख साह र कार्कीको मौनता नै भ्रष्टाचारलाई संरक्षण दिने प्रमाण हो।”
कार्यालयभित्र बिचौलियामार्फत गैर–कानूनी रुपमा पैसा उठाइने, सवारीधनीको गैर–उपस्थितिमा पास गरिने, बीमा नबनाई ब्लुबुक नवीकरण हुने, नामसारी तथा श्रेस्ता दर्तामा हजारौँ रुपैयाँ असुलिनेजस्ता कार्य निरन्तर भइरहेको छ। तर, प्रमुख साह र कार्की देखेर पनि नदेखेजस्तो गर्ने गरेका छन्।
यसबाहेक, जिल्लाभरै चर्चामा रहेको यत्रो भ्रष्टाचारबारे जिल्ला प्रशासन कार्यालय पर्सा समेत मौन रहेको भुक्तभोगीहरूको गुनासो छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रशासनले यस्ता अनियमितता तत्काल नियन्त्रण गर्नुपर्नेमा उल्टै चुप्पी साधिएको सेवाग्राहीहरूले आक्रोश व्यक्त गरेका छन्।
स्रोतका अनुसार, माली–सिंहले संकलन गरेको रकमको अंश माथिसम्म बुझाइने भएकाले फाँट प्रमुख कार्की र कार्यालय प्रमुख साह देखेर पनि मौन बस्ने गरेको छ। सेवाग्राहीहरूको भनाइमा, “माली–सिंह दैनिक लाखौँ असुल्छन्, कार्की र साहलाई अंश बुझाउँछन्, त्यसैले सबै चुप छन्। प्रशासनले पनि हेरेर नहेरेजस्तो गरिरहेको छ।”
भुक्तभोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमार्फत तत्काल छानबिन गरी माली–सिंहसहित प्रमुख साह, फाँट प्रमुख कार्की र संलग्न कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।