वीरगञ्ज । पर्सा जिल्लामा पछिल्ला दिनमा अपराधजन्य घटनाहरू तीव्र रूपमा बढिरहेका छन् । तर, जिल्ला प्रहरी प्रमुख एसपी सुदिपराज पाठकको नेतृत्वमा रहेको पर्सा प्रहरीले अपराध नियन्त्रणमा पूर्ण असफलता देखाएको भन्दै जनसमुदायले आक्रोश प्रकट गरेका छन् ।
मंगलबार राति वीरगञ्जको दसैँ मेलामा दुई समूहबीच भएको ग्याङ फाइटमा २० वर्षीय युवक गोल्डेनको ज्यान गएको छ । पसल राख्ने विषयलाई लिएर सुरु भएको विवाद हिंसात्मक रुप लिँदा भाटो प्रहारबाट उनको मृत्यु भएको हो । सुरक्षाको अभावकै कारण मेलामा सहभागी आमनागरिक त्रासमा परेका थिए । प्रारम्भिक अनुसन्धानका नाममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिए पनि घटनाबारे ठोस तथ्य सार्वजनिक गर्न नसक्नु प्रहरीको लापरबाहीको प्रमाण भएको आरोप लगाइन्छ ।
त्यसैगरी बिहीबार बेलुकी छिपहरमाई गाउँपालिका–५ भिस्वामा गोली प्रहार हुँदा १६ वर्षीय किशोर गोलु आलम घाइते भए । स्थानीयको भनाइअनुसार भिस्वा र झलमहियाका युवाबीच लामो समयदेखि विवाद रहँदै आएको भए पनि प्रहरी प्रशासनले समयमै चासो नदिँदा विवाद चरममा पुगेर गोली चल्ने स्थिति आएको हो । यस घटनामा समेत प्रहरीले तीन किशोरलाई नियन्त्रणमा लिएको भए पनि अपराध नियन्त्रणभन्दा अनुसन्धानको नाममा ढाकछोप गर्ने प्रवृत्ति हाबी रहेको देखिन्छ ।
लगातार भएको घटनामा एक जनाको ज्यान जाने र किशोर गोली हानिने जस्ता घटनाले पर्साको सुरक्षा स्थिति कति कमजोर छ भन्ने स्पष्ट हुन्छ । मेलाजस्तो भीडभाड हुने स्थानमा समेत शान्ति सुरक्षा कायम राख्न नसक्नु र गाउँ–सहरमा किशोरग्याङ सक्रिय रहनु प्रहरी नेतृत्वको असक्षमता र बेवास्ताको परिणाम हो भन्ने टिप्पणी भइरहेका छन् ।
स्थानीयवासीहरूका अनुसार, “प्रहरीको उपस्थितिभन्दा अपराधीको हिम्मत बढेको छ ।” सुरक्षा फितलो हुँदा आमनागरिक असुरक्षित महशुस गरिरहेका छन् । अपराध नियन्त्रणमा असफल भएको भन्दै पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकको भूमिकामाथि गम्भीर प्रश्न उठ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकले अपराध नियन्त्रणमा प्रहरीले सक्रियता देखाइरहेको स्पष्ट पारेका छन् । उनले भने, “वीरगञ्जजस्तो ठूलो सहरमा आपराधिक घटना भइहाल्छन्, तर सबभन्दा ठूलो कुरा भनेको अपराधीको पहिचान र नियन्त्रण हो । त्यस दिशामा प्रहरीले आवश्यक कदम चालिसकेको छ ।”
उनका अनुसार हालैको गोली काण्डमा संलग्न व्यक्तिको पहिचान भइसकेको छ र उनी फरार छन् । “फरार रही लुकीछिपी बस्नु पनि अपराधीका लागि एक किसिमको सजाय हो,” एसपी पाठकले भने ।
त्यस्तै, दसैँ मेलामा भएको ग्याङ फाइटका संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइरहेको जानकारी उनले दिए । आगामी दिनमा यस्ता घटना नदोहोऱ्याउन थप सुरक्षा व्यवस्था कडा पारिएको पनि उनको भनाइ छ ।