वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा कर्मचारी चन्द्र प्रसाद पुरबे, गौरीशंकर माली (भगत), चन्द्रमा सिंह लगायतका केही कर्मचारीहरूले खुलेआम घुस असुली र अनियमितता मच्चाएको तथ्य सार्वजनिक भएको छ । कार्यालयभित्रै बिचौलियामार्फत दैनिक लाखौं रुपैयाँ बराबरको अवैध रकम उठाउँदै आएको भिडियो प्रमाण समेत ज्योती दैनिकलाई प्राप्त भएको हो ।
सेवाग्राहीहरूले बताएका छन् कि नेपाली सवारीसाधनको पटके काट्न जाँदा तोकिएको राजस्वबाहेक रु. ५० देखि ५०० सम्म असुल्ने गरिएको छ । त्यस्तै, भारतीय सवारीसाधनको यातायात अनुमति पत्र (RTO) लिन आउने पर्यटकहरूसँग पनि प्रति पटके रु. ५०० देखि २,००० सम्म अतिरिक्त रकम माग्ने गरिएको छ । यसबारेको भिडियो समेत सुरक्षित रहेको छ ।
स्रोतका अनुसार चन्द्र प्रसाद पुरबेले आफूले घुस लिएको होइन, सेवाग्राहीहरूले “खुसीले दिएको” दाबी गरेका छन् । तर, दैनिक ४०–५० वटा नेपाली र ३०–४० वटा भारतीय पटके काटिने शाखाबाट मात्र दिनको ३० देखि ५० हजार रुपैयाँसम्म अवैध असुली हुने गरेको तथ्य फेला परेको छ ।
कार्यालय सहयोगी गौरीशंकर माली र चन्द्रमा सिंहले आफ्ना पाँच जना बिचौलियामार्फत अवैध कारोबार गराउँदै आएका छन् । उनीहरूले कार्यालयमा ताल्चा लगाएर बाहिरी व्यक्तिलाई प्रवेश गर्न नदिने, सवारीधनीको उपस्थितिबिनै कागजातमा सही–छाप लगाउने र मनपरी ढङ्गले पास गर्ने गरेको देखिन्छ ।
भुक्तभोगीहरूले माली र सिंहमाथि दीर्घकालीन रूपमा घुस असुली, सम्पत्ति आर्जन र बिचौलिया परिचालनको आरोप लगाएका छन् । बिचौलियामध्ये अमर देव सोनल, ध्रुव पटेल, शिवशम्भु यादव, छोटेलाल यादव र सन्तोष कुमार गुप्ता प्रमुख रहेका छन् । ती बिचौलियालाई कार्यालयभित्रै कुर्सी उपलब्ध गराई सेवाग्राहीसँग रकम असुल्न सहयोग पुर्याइने गरेको छ ।
स्रोतका अनुसार, ब्लुबुक नवीकरणदेखि सवारी दर्ता र नामसारीसम्मका सेवामा तोकिएको शुल्कबाहेक रु. ५०० देखि ३ हजारसम्म अतिरिक्त रकम असुल्ने गरिएको छ । सेवाग्राहीको उपस्थितिबिनै बिचौलियामार्फत श्रेस्ता दर्ता र सही–छाप मिलाउने काम पनि नियमित रूपमा हुने गरेको छ ।
मासिक करिब ३० हजार तलब पाउने मालीले हेटौँडामा करोडौँ मूल्य बराबरको तीनतले घर र आधा दर्जनभन्दा बढी जग्गा जोडेको तथ्य सार्वजनिक भएको छ । उनका छोराहरू भारत र काठमाडौंमा अध्ययनरत रहेको र त्यसको खर्च पनि अवैध आम्दानीबाट नै धानिएको आरोप छ ।
भुक्तभोगीहरूका अनुसार, माली र सिंहले “प्रदेश मन्त्रालयसम्म हाम्रो पहुँच छ, केही हुँदैन” भन्दै धम्की दिने गरेका छन् । ती कर्मचारीहरूले दैनिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म रकम असुल्ने र त्यसको अंश मोटरसाइकल फाँट प्रमुख प्रेम कार्कीलाई बुझाउने गरिएको बिचौलियाहरूले बताएका छन् ।
कार्यालयमा प्रमुख अधिकृत प्रेम कार्की, नायब सुब्बा विप्लव भट्टराई, केविन यादवसहित पाँच जना सरकारी कर्मचारी भए पनि वास्तविक नियन्त्रण माली र सिंहकै हातमा रहेको पाइएको छ ।
भुक्तभोगीहरूको भनाइमा — “सार्वजनिक सेवामा बसेर खुलेआम भ्रष्टाचार गर्नेहरूलाई कानूनी कारबाही नगरेसम्म यस्तो प्रवृत्ति अन्त्य हुँदैन।”
यस विषयमा प्रतिक्रिया जनाउँदै पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने,
> “यदि उनीहरूले घुस लिएको प्रमाणित भयो भने भोलि नै यातायात कार्यालयका प्रमुखलाई बोलाएर आवश्यक कानूनी कारबाही गरिनेछ। कुनै पनि कर्मचारीले सेवाग्राहीसँग अवैध रकम असुल्ने काम सह्य छैन।”
सेवाग्राहीहरूले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमार्फत तत्काल छानबिन गरी माली, सिंह, पुरबे, कार्की लगायत संलग्न सबैलाई पदमुक्त गरी कारबाही गर्न माग गरेका छन् ।
त्यससँगै, अख्तियारको मौनतामा भ्रष्ट कर्मचारीहरू संरक्षण पाउँदै आएको भन्दै सेवाग्राहीहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।