वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणको स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। आइतबार (मंसिर ७) दिउँसो गरिएको नियमित चेकजाँचका क्रममा पर्सा प्रहरीले पकाहामैनपुर गाउँपालिका–१ धोरेका ३४ वर्षीय अवदेश पटेललाई १५ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो।
पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकका अनुसार पक्राउ परेका पटेल बीआर२२एएफ ४१२६ नम्बरको मोटरसाइकलमा भारततर्फबाट नेपालतर्फ प्रवेश गर्दै गर्दा शंका लागी रोकिएको र जाँचका क्रममा ठूलो परिमाणमा नगद फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार उनको साथबाट बरामद भएको नगद रकमको स्रोतबारे सोधपुछ गर्दा उनले कुनै विश्वसनीय प्रमाण प्रस्तुत गर्न सकेनन्। त्यसपछि उनलाई ‘स्रोत नखुलेको रकम’ तथा सम्भावित अवैध वित्तीय कारोबार (हुण्डी) को आशंकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
स्थानीय स्रोतका अनुसार अवदेश पटेल लामो समयदेखि सीमावर्ती भारतीय सहर भेलाहीस्थित एक हार्डवेयर पसलसँग मिलेमतोमा हुण्डी कारोबार गर्दै आएका थिए। सीमावर्ती क्षेत्रमा रकम ओसार–पोसार गर्ने अवैध गतिविधिमा संलग्न रहँदै आएको र छोटो समयमै आर्थिक रूपमा धनी बनेको आरोपसमेत उनको विरुद्धमा रहेको बताइएको छ।
दैनिक खर्च धान्न कठिनाइ भोगिरहेका पटेल पछिल्लो समय चारपांग्रे सवारीसाधन प्रयोग गर्ने गरी विलासी जीवनशैली अपनाउँदै आएका कारण पनि प्रहरीको ध्यान उनैतर्फ गएको थियो।
फेला परेको रकम र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।