काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्र हुने स्वच्छ प्रतिस्पर्धालाई एमालेले आफ्नो स्वभाविक विधिका रूपमा स्वीकार गरेको बताएका छन् । बुधबार महाधिवेशनको बन्दसत्र चलिरहेको भृकुटीमण्डप परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
नेता बर्तौलाले वर्तमान जटिल राजनीतिक परिस्थितिबाट मुलुकलाई पार लगाउने सामर्थ्य केवल एमालेसँग मात्र रहेको दाबी गरे । एमाले आज पनि जनताको सर्वाधिक प्रिय शक्ति रहेको उल्लेख गर्दै उनले मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने अभिभारा एमालेकै काँधमा रहेको जिकिर गरे । ‘एमाले जनताको प्रिय पार्टी हो । आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने सामर्थ्य एमालेले राख्नुपर्छ,’ उनले भने, ‘यस प्रकारको नेतृत्व यो महाधिवेशनबाट आउनेछ र मुलुकलाई संवैधानिक तथा लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम गर्नेछ ।’
महाधिवेशनमा देखिएको चुनावी माहोलबारे टिप्पणी गर्दै उनले प्रतिस्पर्धा देखिए पनि त्यसलाई पार्टीले स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा लिएको स्पष्ट पारे । राजनीतिक स्थायित्व कायम गर्ने कार्यभार पूरा गर्न महाधिवेशनबाट सिंगो पार्टी एकताबद्ध भएर निस्कने विश्वास उनले व्यक्त गरे । उनले थपे, ‘प्रतिस्पर्धा देखिन्छ, तर स्वस्थ प्रतिस्पर्धा एमालेले स्वीकार गरेको विधि हो । यसबाट निर्वाचित नेतृत्वले समग्र भावना समेटेर अघि बढ्छ ।’
चौतर्फी प्रहारका बाबजुद एमाले राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र संविधानको रक्षाका लागि चट्टानी अडानका साथ उभिने उनले बताए । प्रतिक्रियावादी शक्तिहरूले एमाले कमजोर होस् भन्ने चाहे पनि आफूहरू देशहितको पक्षमा नडगमगाउने उनले प्रष्ट पारे । साथै, एमाले फुट्ला र त्यही जगमा आफ्नो पार्टी बनाउँला भनेर दाउ हेरेर बस्नेहरूको सपना कहिल्यै पूरा नहुने उनको चेतावनी छ ।