पर्सा । नेकपा (एमाले) बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फको उम्मेदवार छनोटका क्रममा पूर्वमन्त्री ज्वाला साहको राजनीतिक प्रभाव गम्भीर रूपमा कमजोर भएको प्रस्ट देखिएको छ। पार्टीभित्र सहमति जुट्न नसकेपछि गरिएको मतदान प्रक्रियामा साहले जम्मा ४ मत मात्र प्राप्त गर्दै लज्जास्पद पराजय बेहोरेकी छन्।
पार्टीको वडा कमिटी अध्यक्ष, पालिका कमिटीका पदाधिकारी तथा क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यहरू सहभागी मतदानमा साहको पक्षमा न्यूनतम समर्थन देखिनु उनको संगठनभित्रको पकड कमजोर भइसकेको संकेत मानिएको छ। लामो समयसम्म सांसद र मन्त्री भइसकेकी नेतृलाई आफ्नै पार्टीका जिम्मेवार कार्यकर्ताले पत्याउन नसक्नुले उनको नेतृत्वप्रति बढ्दो असन्तुष्टि उजागर गरेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार क्षेत्रीय तहमा जनसम्पर्क कमजोर हुनु, संगठन विस्तारमा प्रभावकारी भूमिका नदेखिनु र कार्यकर्तासँगको दूरी नै साहको पराजयको मुख्य कारण बनेको हो। अघिल्लो कार्यकालमा अपेक्षित उपलब्धि दिन नसकेको आरोप पनि पार्टीभित्रै खुलेर उठ्न थालेको बताइन्छ।
मतदानको नतिजाले एमाले बारा–३ मा नयाँ अनुहार र सक्रिय नेतृत्वप्रति कार्यकर्ताको स्पष्ट झुकाव देखाएको छ भने ज्वाला साहजस्ता पुराना नेताहरूको राजनीतिक भविष्य अनिश्चित बन्दै गएको संकेत गरेको छ। यो परिणामले साहको राजनीतिक पुनरागमन सहज नहुने सन्देश समेत दिएको छ।
मतदानबाट बारा क्षेत्र नम्बर ३ का लागि प्रत्यक्षतर्फको उम्मेदवारमा अध्यानन्द पाण्डे, यम समिउल्लाह र सीमा ठकुरी सिफारिस भएका छन्।
मतदानमा एमाले बारा जिल्ला अध्यक्ष समेत रहेका पाण्डेले शत प्रतिशत मत पाएर पहिलो नम्बरमा सिफारिस भएका छन्।
यस्तै दोस्रो नम्बरमा ३७ मत ल्याएर यम समिल्लाह र ३६ मत प्राप्त गर्दै सीमा ठकुरी उम्मेदवार सिफारिस भएका छन्।