वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले पर्साको पकहा मैनपुरस्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी विवादमा सक्कल फाइल मगाउन आदेश दिएको छ।
माननीय न्यायाधीशद्वय निर्मला पौडेल भट्टराई र अर्जुन अधिकारीको संयुक्त इजलासले सो आदेश जारी गरेको हो। जितेन्द्र प्रसाद चौहान समेत निवेदक रहेको उक्त मुद्दा (०८२-WO-०४९०) मा 'उत्प्रेषण परमादेश' को माग गरिएको छ।
अदालतले माघ १४ गतेका लागि अन्तरिम आदेशको छलफलको पेशी तोकेको छ।
विद्यालय व्यवस्थापन समितिका सदस्यहरू छनोट गर्ने सम्बन्धमा २०८२/०९/१३ गते भएको अभिभावक भेलाको निर्णय, २०८२/०९/३० र २०८२/०९/०६ को व्यवस्थापन समितिको निर्णय र सोसँग सम्बन्धित सम्पूर्ण सक्कल फाइलहरू विपक्षी विद्यालयबाट झिकाउन अदालतले आदेश दिएको छ।
निवेदकको तर्फबाट अधिवक्ता विरेन्द्रप्रसाद यादव र विपक्षीको तर्फबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईं तथा अधिवक्ताहरू रामनारायण कुर्मी र कमलमोहन पोखरेलले बहस गर्नुभएको थियो ।
अदालतले आगामी माघ १४ गते हुने छलफलपछि मात्र यस विषयमा थप निर्णय लिने देखिएको छ। विद्यालय व्यवस्थापन समितिको चयन प्रक्रियामा प्रक्रियागत त्रुटि भएको दाबी गर्दै निवेदकहरू अदालत पुगेका हुन्।