वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयको यात्रु शाखा क्षेत्रमा पर्यटक सवारीसाधनसँग अवैध रकम असुली तथा दुर्व्यवहार भइरहेको भन्दै स्थानीय एक व्यक्तिले गम्भीर आरोप सार्वजनिक गरेका छन्। उनले भन्सार परिसरभित्र केही बिचौलिया (दलाल) समूह सक्रिय रही पर्यटक गाडीबाट १० हजारदेखि १५ हजार रुपैयाँसम्म असुली गर्ने गरेको दाबी गरेका छन्।
उक्त व्यक्तिका अनुसार यस विषयमा भन्सार कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्सासम्म पटक–पटक जानकारी गराइए पनि प्रभावकारी कारबाही नभएको आरोप लगाइएको छ। उनले निगरानीका लागि जडान गरिएका सिसिटिभी क्यामेराको प्रभावकारी प्रयोग नभएको तथा उजुरीका आधारमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
त्यस्तै, उनले केही प्रहरी कर्मचारी तथा सुरक्षा निकायसँग दलाल समूहको मिलेमतो रहेको आरोपसमेत लगाएका छन्। दलाल समूहले भन्सार परिसरभित्रै बसेर सेवा दिने नाममा यात्रुसँग रकम असुल्ने गरेको उनको भनाइ छ। आफूले सम्बन्धित निकायलाई तस्बिर तथा अडियो सामग्रीसमेत उपलब्ध गराएको दाबी गरिएको छ।
यता, यस विषयमा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन बाँकी रहेको छ। सार्वजनिक रूपमा उठेका आरोपबारे सम्बन्धित कार्यालयहरूले निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याउनुपर्ने माग स्थानीय स्तरमा उठ्न थालेको छ।
भन्सार परिसर जस्तो संवेदनशील क्षेत्रमा सेवा प्रवाहलाई पारदर्शी, सुरक्षित र बिचौलियामुक्त बनाउन निगरानी प्रणाली प्रभावकारी बनाउनुका साथै गुनासो व्यवस्थापनलाई थप सक्रिय बनाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ।