लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२, पर्सामा विद्यालय बसले किच्दा बसका सहचालक र एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका अनुसार पायोनियर एजुकेसन स्कुल, लहान नगरपालिका–१२, भोटियाटोलको को।१ ख ३५९९ नम्बरको विद्यालय बसले किच्दा २२ वर्षीय सहचालक ओमप्रकाश यादव र शिशु कक्षामा अध्ययनरत पाँच वर्षीया समीक्षा साहको मृत्यु भएको हो।
प्रहरी निरीक्षक केशव कटुवालका अनुसार मङ्गलबार अपराह्न विद्यालय बसले विद्यार्थीलाई घर पुर्याउन पुगेको थियो। बालिका समीक्षा बसबाट ओर्लिएपछि बस अगाडि बढ्ने क्रममा र बसका सहचालक यादव पछाडिको चक्कामुनि पर्नुभएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि बस चालक फरार रहेका छन्। बसलाई इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कटुवालले बताउनुभयो।
मृतक समीक्षा साह सप्तरीको बोदेबरसाइन नगरपालिका–८ निवासी गजेन्द्र साहकी पाँच वर्षीया छोरी हुनुहुन्छ। उहाँ सिरहाको लक्ष्मीपुर पतारी–२, पर्सास्थित मावलीघरमा बस्दै उक्त विद्यालयमा अध्ययनरत हुनुहुन्थ्यो।