भारतका प्रधानन्यायाधीशले सरकारको आलोचना गर्ने युवालाई ‘कक्रोच’ र ‘परजीवी’सँग तुलना गरेको भनिएको टिप्पणीपछि सामाजिक सञ्जालमा गरिएको एउटा व्यङ्ग्यात्मक पोस्टले अहिले विद्यार्थी असन्तुष्टि र विरोध आन्दोलनको रूप लिएको छ ।
इन्जिनियरिङ स्नातक अभिजीत डिप्केले गरेको उक्त पोस्ट केही घण्टामै भाइरल भएपछि लाखौँ युवाको समर्थन जुटेको छ भने आन्दोलन सामाजिक सञ्जालबाट सडकसम्म पुगेको छ । संयुक्त राज्य अमेरिकामा रोजगारी खोजि रहेका ३० वर्षीय डिप्केले प्रधानन्यायाधीश सूर्य कान्तको टिप्पणीबाट आफू स्तब्ध भएको बताउनुभयो । प्रधानन्यायाधीशले भने आफ्नो भनाइ सन्दर्भ बाहिर प्रस्तुत गरिएको दाबी गर्नुभएको थियो ।
तीव्र आर्थिक वृद्धि भए पनि भारतमा लाखौँ युवा स्थायी र राम्रो आम्दानी हुने रोजगारीबाट वञ्चित रहेको अवस्थाले असन्तुष्टि बढाएको डिप्केको भनाइ छ । उहाँले मे महिनामा एक्समा व्यङ्ग्यात्मक रूपमा ‘यदि सबै कक्रोच एकजुट भए भने के होला ?’ भन्ने पोस्ट गर्नुभएको थियो । त्यसपछि उहाँले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को नामसँग मिल्ने गरी कक्रोच जनता पार्टी (सिजेपी) नामक व्यङ्ग्यात्मक अभियान सुरु गर्नुभयो ।
अभियान सुरु भएको दुई घण्टामै करिब पाँच हजार जनाले दर्ता गरेका थिए भने २४ घण्टाभित्र ३० हजारभन्दा बढी सहभागी भएका थिए । अहिले सिजेपीको इन्स्टाग्राम खातामा दुई करोड २० लाखभन्दा बढी फलोअर्स पुगेका छन् । यो सङ्ख्या भाजपाको एक करोड ३० लाख फलोअर्सभन्दा बढी हो । डिप्केका अनुसार यसले भारतका युवा विद्यमान राजनीतिक दलप्रति गहिरो असन्तुष्ट रहेको स्पष्ट सन्देश दिएको छ ।
विशेष गरी २० वर्ष आसपासका जेन-जेड विद्यार्थीले अभियानलाई तीव्ररूपमा अघि बढाएका छन् । उनीहरूले आफ्ना समस्या कुनै पनि राजनीतिक दलले नसुनेको गुनासो गर्दै आएका छन् । अनलाइन अभियान विस्तारै सडक आन्दोलनमा परिणत भएको छ । सिजेपीले विभिन्न सहरमा प्रदर्शन गरिरहेको छ भने संयुक्त राज्य अमेरिकाबाट जुन ६ मा फर्किएका डिप्केले गत महिना नयाँदिल्लीको जन्तर मन्तरमा दोस्रो चरणको आन्दोलन सुरु गर्नुभएको थियो ।
यो अझै जारी छ । आन्दोलनको मुख्य माग शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा हो । आन्दोलनकारीले शिक्षा प्रणालीमा कमजोरी, विशेषगरी मेडिकल प्रवेश परीक्षामा पटक-पटक देखिएको प्रश्नपत्र चुहावट र अनियमितताप्रति सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । यिनै घटनाले आन्दोलनलाई थप बल दिएको उनीहरूको भनाइ छ ।
दिल्ली विश्वविद्यालयकी २५ वर्षीया छात्रा अञ्जलीले सामाजिक सञ्जालमा सुरु भएको व्यङ्ग्य अहिले युवाको दीर्घकालीन आक्रोशको अभिव्यक्तिमा परिणत भएको बताउनुभयो । उहाँका अनुसार पछिल्लो एक दशकदेखि युवामा बढ्दै गएको निराशा अहिले खुलारूपमा बाहिर आएको हो ।
प्रख्यात जलवायु अभियन्ता सोनम वाङचुक पनि जुन २८ देखि अनशनसहित आन्दोलनमा सहभागी हुनुभएको छ । उहाँले विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको दाबी गर्ने सरकार नागरिकको आवाजप्रति संवेदनशील र उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
यसअघि विपक्षी आम आदमी पार्टीका सञ्चार रणनीतिकारका रूपमा काम गरिसक्नुभएका डिप्केले भने आन्दोलनलाई राजनीतिक दलमा रूपान्तरण गर्ने आफ्नो योजना नरहेको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार अहिलेको उद्देश्य विद्यार्थीको असन्तुष्टि, परीक्षा प्रणालीमा देखिएका अनियमितता र संस्थाप्रतिको बढ्दो अविश्वासलाई उजागर गर्नु हो । भारतमा समाधान गर्नुपर्ने यस्ता धेरै समस्या अझै बाँकी रहेको उहाँको भनाइ छ ।