काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा अनिवार्य रूपमा लगाउनुपर्ने चिकित्सकीय सिफारिससहितको स्वास्थ्य परीक्षण प्रतिवेदन संघीय संसद् सचिवालयमा बुझाएका छन्। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले उक्त पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
प्रतिनिधिसभामा बुधबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएकाले उनी कालो चस्मा लगाएर उपस्थित हुने भएका छन्। यसअघि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई कालो चस्मा लगाउनुपरेमा चिकित्सकीय प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरेका थिए।
प्रधानमन्त्री शाहले गत २२ साउनमा छाउनीस्थित सैनिक अस्पतालमा आँखा परीक्षण गराएका थिए। परीक्षणका क्रममा तीव्र प्रकाशमा प्रत्यक्ष हेर्दा समस्या देखिएकाले कालो चस्मा प्रयोग गर्न चिकित्सकले सिफारिस गरेका थिए। सोही स्वास्थ्य प्रतिवेदन २६ साउनमा संसद् सचिवालयमा पठाइएको हो।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिन्छ। यसपटक ११ जना सांसदले समयमै लिखित रूपमा प्रश्न दर्ता गराएका छन् र प्रधानमन्त्रीले ती प्रश्नको जवाफ दिनेछन्।
नियमावलीमा प्रश्नोत्तर कार्यक्रम सरकारी तथा अन्य सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि रहेको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आधिकारिक प्रतिवेदन संसद् सचिवालयमा पुगेपछि उनी कालो चस्मासहित संसद्मा उपस्थित हुने बाटो खुलेको छ।