पर्सा । धोविनी गाउँपालिकामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास (DID) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
ACCESS परियोजनाअन्तर्गत सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा एकाउन्टेबिलिटी ल्याब नेपालको सहकार्यमा गाउँपालिकाको सभा कक्षमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा GEDSI र DID को अवधारणा, अपाङ्गताको परिचय तथा वर्गीकरण, समावेशी शिक्षा, DID को विकास कार्यक्रमसँगको सम्बन्ध, बजेट व्यवस्थापन तथा स्रोत परिचालनलगायत विषयमा प्रस्तुतीकरणसहित छलफल गरिएको थियो।
गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद कटवाल, विभिन्न वडाका वडाध्यक्ष, शिक्षा, स्वास्थ्य, सामाजिक तथा महिला तथा बालबालिका शाखाका प्रमुख, पालिकास्तरीय अपाङ्गता समन्वय समितिका प्रतिनिधि, तीनवटै माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिको सहभागिता थियो। SODCC पर्साका कार्यकारी निर्देशक रुपक पाण्डे पनि कार्यक्रममा सहभागी थिए। कार्यक्रमको उद्घोषण निरज कुमार पटेलले गरेका थिए।
कार्यक्रममा समाजका सबै व्यक्तिले विभेदरहित रूपमा समान अधिकार, अवसर, पहुँच र सहभागिता पाउनुपर्नेमा जोड दिइएको थियो। लैङ्गिक समानता, अपाङ्गता समावेशीकरण र सामाजिक समावेशीकरणलाई स्थानीय विकासका योजना तथा कार्यक्रममा प्रभावकारी रूपमा समेट्नुपर्ने सहभागीहरूले बताएका थिए।
अपाङ्गता भएका व्यक्तिलाई दया वा सेवाको पात्रका रूपमा नभई समान अधिकार भएका नागरिकका रूपमा हेर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। अपाङ्गतालाई व्यक्तिको कमजोरीका रूपमा मात्र नभई समाजमा रहेका भौतिक, सूचनागत तथा व्यवहारगत अवरोधसँग जोडेर हेर्नुपर्नेमा जोड दिइएको थियो।
समावेशी शिक्षाका विषयमा कुनै पनि बालबालिका जात, लिङ्ग, भाषा, धर्म, अपाङ्गता वा आर्थिक अवस्थाका कारण शिक्षाबाट वञ्चित हुन नहुने बताइएको थियो। विद्यालयको भौतिक संरचना तथा शिक्षण सिकाइ प्रक्रियालाई सबै बालबालिकाको आवश्यकता अनुकूल बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
त्यस्तै, विद्यालय तथा सार्वजनिक सेवाका संरचनालाई पहुँचयुक्त बनाउन र्याम्प, पहुँचयुक्त शौचालय, ह्यान्डरेल, ब्रेल तथा ठूलो अक्षरका सामग्री र सांकेतिक भाषा सेवाजस्ता सुविधाको आवश्यकता औंल्याइएको थियो।
DID लाई छुट्टै कार्यक्रमका रूपमा मात्र नभई स्थानीय विकासका सबै योजना तथा कार्यक्रमको cross-cutting approach का रूपमा समावेश गर्नुपर्नेमा पनि जोड दिइएको थियो। योजना निर्माणदेखि बजेट विनियोजन, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदनसम्मका सबै चरणमा अपाङ्गता समावेशी दृष्टिकोण अपनाउनुपर्ने सहभागीहरूले बताएका थिए।
कार्यक्रमले धोविनी गाउँपालिकाको स्थानीय योजना, बजेट, शिक्षा तथा सेवा प्रवाहमा ‘कसैलाई पनि पछाडि नपार्ने’ (Leave No One Behind) अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाबीच साझा बुझाइ विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।