जनकपुर । मधेश प्रदेशको बारा जिल्लाको जीतपुर सिमराकी बालिका गरिमा चौधरीको घटना सेलाउन नपाउँदै आइतवार सप्तरीमा एक तीन वर्षीया बालिका मृत फेला परेकी थिइन् । मधेश प्रदेशमा बालिका बलात्कार घटनाको डरलाग्दो अवस्थाले महिलाभन्दा बढी बालिका बलात्कार र यौनजन्य दुव्र्यवहारको शिकार भइरहेको तथ्यांकले देखाउँछ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तकको तथ्यांक अनुसार वर्ष सन् २०२३ देखि सन् २०२५ सम्म ३३१ कुल ६३० बलात्कारको घटनामा बलिका ३३१ र महिला २९९ जना पिडीत भएकी छिन् । तथ्यांक अनुसार बालिका बलात्कारको घटना सन् २०२५ मा १०१, सन् २०२४ मा १३०, र सन् २०२३ मा एक सयवटा भएको हो ।
महिलातर्फ सन् २०२५ मा १२३, सन् २०२४ मा ९७ र सन् २०२३ मा ७९ वटा घटना भएको भएको हो । गत तीन वर्षको तथ्यांकमा मधेशका जिल्ला मध्ये सबभन्दा बढी बालिका बलात्कार घटना सर्लाहीमा ६७ वटा घटना भएको हो । अन्य जिल्लाहरुमा सप्तरीमा ५५, सिरहामा ५३, धनुषामा २७, महोत्तरीमा २६, रौतहटमा २८, बारामा ३५ र पर्सामा ४० वटा भएको हो ।
यसरी महिलातर्फ सबभन्दा बढी धनुषा जिल्लामा ९७ वटा बलात्कार घटना भएको हो । अन्य जिल्लातर्फ सप्तरीमा २९ वटा घटना भएको जसमध्ये सन् २०२५ मा एउटा पनि घटना भएको देखिदैन । सिरहामा ४३, महोत्तरीमा २५, सर्लाहीमा २४, रौतहटमा ३२, बारामा २२ र पर्सामा २७ वटान बलात्कार घटना रहेको इन्सेकको तथ्यांकमा उल्लेख छ ।
उमेर नपुगेका खासगरी किशोरावास्थाको बालिका बढी बलात्कारको शिकार भइरहेको सरोकारवाला विज्ञहरुको भनाई छ । बालिका बलात्कार घटना बढनुको प्रमुख कारण सामाजिक सञ्जाल रहेका, नौतिकताको कमी, यौन शिक्षा र अभिभावकमा सचेतनाको आभावले बढेको सरोकारवालाहरु बताउँछन् ।
बलात्कार घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार तथ्यांकगत रुपमा हेर्दा सबभन्दा बढी १२/१३ वर्षदेखि १० वर्ष मुनिका बालिका बलात्कार घटनाको शिकार रहेकी छिन् । जसको प्रमुख कारण हो सामाजिक सञ्जाल । सामाजिक सञ्जालमा विभिन्न उत्तेक दृश्य हेर्ने, लागू पदार्थ सेवन, साथी बनाउने र शारिरीक सम्पर्कमा संलग्न हुने, अभिभावकको दबावपछि बलात्कार मुद्दा दर्ता लगायतका रहेको छ ।
सामाजिक सञ्जालको बढी प्रयोग र दुरुपयोग, नौतिक शिक्षा र यौन शिक्षाको आभाव तथा अभिभावकमा अभिभावकत्वको कमीले बालिका बलात्कार घटना बढेको यस्तै मानवअधिकारकर्मी एवं अधिवक्ता रेखा झाको भनाई छ । उनले भनिन् ‘सामाजिक सञ्जाल अहिले निकै छाडा भइसकेको छ । पैसा कमाउने होडमा सामाजिक सञ्जालको विभिन्न प्लेटफार्ममा राखिएका कामुकता उत्तेजक दृश्यमा नियन्त्रण आवश्यक छ । यसले सामाजका
बालबालिकामा निकै नाकारात्मक पारेर बलात्कार जस्ता घटनाको अवस्था पुरयाउँछ । सामाज र परिवार के हो भन्ने नैतिकता हराउंदै गएको छ । यसका लागि नौतिक शिक्षा र गुड टच तथा बैड टच, उमेर समूहमा नपुगेपछि गरिएको शारिरीक सम्पर्कले पार्ने असर बारे बालबालिकामा शिक्षा दिन आवश्यक छ । सबभन्दा महत्वपूर्ण अभिभावकमा अहिले अभिभावकत्व हराउँदै गएकाले पनि घटना बढेको उनको भनाई छ ।
यस्तै इन्सकेका मधेश प्रदेश प्रतिनिधि एवं मानवअधिकारकर्मी राजु पासवानले विभिन्न सामाजिक सञ्जालको दुरुपयोग, प्रलोभनमा पर्नु, बालबालिका सम्बन्धी अन्तराष्ट्रिय कानूनको अवलम्बन नगर्नु र सामाजिक प्रतिष्ठाको कारणले बालिका बलात्कारको घटना तथ्यांकगत रुपमा बढी देखिएको बताउँछन् ।