वीरगंज । दाइजोमा सुनको बाला नल्याएको निहुँमा विभत्स कुटपिट गरी छोरीको हत्या गरिएको र १४ दिन बितिसक्दा पनि प्रहरीले अपराधी जोगाउन जाहेरीसमेत लिन अस्वीकार गरेको गम्भीर आरोप लागेको छ।
रौतहट ईशनाथ नगरपालिका–४ का अनचित शाह तेलीको परिवार आफ्नी २५ वर्षीया छोरी आरती कुमारीको न्यायका लागि अहिले प्रहरीको ढोका चहार्दा चहार्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज पुग्न बाध्य भएको छ।
चार वर्षअघि बाराको सिम्रौनगढ–७ का अनिश शाह तेलीसँग विवाह भएकी आरतीलाई सासू-ससुरा र पतिले निरन्तर दाइजोका लागि यातना दिँदै आएका थिए। गत साउन २७ गते पति अनिश, ससुरा अनौती प्रसाद र सासू साबित देवीले सुनको बाला माग्दै आरतीमाथि ज्यानै लिने गरी कुटपिट गरेका थिए।
आरतीका भाइ नेपाली शाहका अनुसार सोही दिन ससुराली पक्षले फोन गरेर "बहिनीलाई नलगे मारिदिने" धम्की दिएको र त्यसको केही घण्टामै आरती पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।
परिवारले यसलाई सुनियोजित हत्या भन्दै जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिन खोज्दा प्रहरीले उल्टै जाहेरी लिन अस्वीकार गरेको छ।
घटना भएको दुई साता बितिसक्दा पनि दोषीमाथि कुनै छानबिन नहुनु र प्रहरीले जाहेरी दर्ता गर्न नमान्नुले प्रहरी प्रशासन नै अपराधी बचाउ खेलमा लागेको पीडित परिवारको आक्रोश छ।
"छोरी मरेको १४ दिन भइसक्यो, तर प्रहरीले जाहेरीसम्म लिएन। न्याय नपाएपछि बाध्य भएर परमादेशको माग गर्दै उच्च अदालत आउनुपर्यो," मृतकका बुवा अनचित शाहले दुखेसो पोखे।
पीडित पक्षले तत्काल किटानी जाहेरी दर्ता गरी निष्पक्ष अनुसन्धान गर्न, मृत्युको सत्यतथ्य बाहिर ल्याउन र आरोपित पति, सासू र ससुरालाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। प्रहरीको यो उपेक्षा र आरोपित पक्षको मौनताले घटनालाई झनै शंकास्पद बनाएको छ।