वीरगञ्ज । मधेश प्रदेशकै जनआस्थाको प्रमुख धार्मिक केन्द्र श्री गहवा माई मन्दिरमा आयोजना हुने चौथो विशाल रथयात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा भएको आयोजक श्री गहवा माई तीर्थक्षेत्र विकास समिति ले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत समितिले असार ३२ गते र श्रावण १ गते सञ्चालन हुने धार्मिक महोत्सवका सम्पूर्ण कार्यक्रम सार्वजनिक गर्दै यस वर्षको रथयात्रामा लाखौँ श्रद्धालुको सहभागिता रहने विश्वास व्यक्त गरेको हो।
समितिका अनुसार असार ३२ गते बिहान ७:३० बजे श्री गहवा माई मन्दिर प्राङ्गणबाट वैदिक मन्त्रोच्चारण, पूजा–अर्चना तथा विशेष धार्मिक विधिपछि चौथो विशाल रथयात्राको शुभारम्भ गरिनेछ। यस वर्ष रथयात्राको विशेष आकर्षणका रूपमा रथयात्रा मार्गभर हेलिकप्टरबाट पुष्पवर्षा गरिने व्यवस्था मिलाइएको छ। पुष्पवर्षाले सम्पूर्ण यात्रा मार्गलाई भक्तिमय वातावरणमा परिणत गर्दै श्रद्धालुहरूमा थप उत्साह र धार्मिक अनुभूति जगाउने आयोजकको विश्वास छ।
सोही दिन साँझ मन्दिर परिसरमा राष्ट्रियस्तरका प्रख्यात कलाकारहरूको सहभागितामा भव्य भजन सन्ध्या आयोजना गरिनेछ। त्यसपछि श्रावण १ गते बिहान ६ बजेदेखि ५६ भोग विशेष पूजा तथा दिउँसो ४ बजेदेखि हजारौँ भक्तजनलाई लक्षित गरी विशाल महाप्रसाद भण्डारा सञ्चालन गरिने कार्यक्रम रहेको छ।
पत्रकार सम्मेलनमा समितिले रथयात्राका क्रममा लाखौँ श्रद्धालुको सहज आवागमन र सुरक्षालाई प्राथमिकतामा राख्दै वीरगञ्जको मुख्य सडक क्षेत्रमा भइरहेको सडक विस्तार तथा तोडफोडको कार्य रथयात्रा अवधिभर स्थगित गर्न सम्बन्धित सडक डिभिजन कार्यालयलाई औपचारिक पत्राचार गरिसकिएको जानकारी दिएको छ।
समितिले वीरगञ्जका सम्पूर्ण सामाजिक, धार्मिक, जातीय, व्यावसायिक सङ्घ–संस्था, उद्योगी–व्यवसायी, बुद्धिजीवी, युवा, महिला तथा नागरिक समाजलाई रथयात्रामा सक्रिय सहभागिता जनाउन हार्दिक आह्वान गरेको छ। साथै रथयात्रा मार्गमा पर्ने घर, पसल तथा प्रतिष्ठानहरूमा कलश स्थापना, तोरण सजावट, दीप प्रज्वलन गरी माताको स्वागत गर्न तथा श्रद्धालुहरूका लागि खानेपानी, सर्वत, प्राथमिक उपचार र अन्य सेवामूलक व्यवस्था मिलाउन आग्रह गरिएको छ।
कार्यक्रममा बोल्दै श्री गहवा माई तीर्थक्षेत्र विकास समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) ले गहवा माईको रथयात्रा सम्पूर्ण वीरगञ्जवासीको साझा धार्मिक तथा सांस्कृतिक पर्व भएको उल्लेख गर्दै सबै भक्तजनलाई आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न आग्रह गरे।
उनले भने, "माताको सेवामा सहयोगको कुनै सानो वा ठूलो मापन हुँदैन। एक किलो नुनदेखि सुनसम्म, जसले जे सक्नुहुन्छ त्यही सहयोग गर्नुहोस्। सबैको साथ, सहयोग र सहभागिताले मात्र यो धार्मिक महोत्सव अझ भव्य र सफल बन्न सक्छ।"
सचिव गुप्ताले आर्थिक सहयोग मात्र नभई स्वयंसेवा, व्यवस्थापन, सरसफाइ, भक्तजनलाई सेवा तथा अन्य आवश्यक सहयोगमार्फत पनि रथयात्रालाई सफल बनाउन सकिने उल्लेख गर्दै यो महोत्सवले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, आपसी भाइचारा र सामुदायिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
पत्रकार सम्मेलनमा रथयात्रा–२०८३ की महिला संयोजक विभा साह, संयोजक बसन्त कुमार गुप्ता, प्रचार–प्रसार उपसमितिका संयोजक श्यामप्रसाद गुप्ता, समितिका अध्यक्ष श्याम पोखरेल, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
आयोजक समितिले गहवा माईको रथयात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई वीरगञ्जको सांस्कृतिक पहिचान, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सामुदायिक एकताको महाउत्सव भएको उल्लेख गर्दै सम्पूर्ण नगरवासीलाई परिवारसहित सहभागी भई कार्यक्रमलाई भव्य, सभ्य र ऐतिहासिक बनाउन पुनः आग्रह गरेको छ।