वीरगञ्ज । नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिको आयोजनामा शनिबार वीरगञ्जमा ‘क्रियाशील सदस्यता सचेतना कार्यक्रम’ सम्पन्न भएको छ। पार्टी संगठन सुदृढीकरण, क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेश प्रदेशमा नेपाली कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य रहेको उल्लेख गर्दै जनजाति, दलित तथा अन्य समुदायबाट पनि थप क्रियाशील सदस्य बनाउने अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले पार्टीको क्रियाशील सदस्यता प्रणाली समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै संगठन बलियो भए मात्रै कांग्रेस अझ प्रभावकारी बन्न सक्ने बताउनुभयो। क्रियाशील सदस्यता पार्टीको मेरुदण्ड भएकाले सदस्यता वितरण र नवीकरणमा कुनै पनि प्रकारको पक्षपात, ढिलासुस्ती वा अन्योल हुन नहुने उहाँको भनाइ थियो।
महामन्त्री पौडेलले कार्यकर्ताको सक्रिय सहभागिता, अनुशासन र जनतासँगको निरन्तर सम्पर्कले मात्रै पार्टीप्रतिको विश्वास मजबुत हुने उल्लेख गर्दै आगामी निर्वाचनलाई लक्षित गरी अहिलेबाटै गाउँ–टोलसम्म संगठन सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो।
कार्यक्रम नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्यहरू रमेश रिजाल, अजयकुमार चौरसिया, सुरेन्द्र चौधरी, रामरूप प्रसाद कुर्मी, जिल्ला उपसभापति रामनारायण कुर्मी, सचिव दिनेश चौधरी, इम्तियाज आलम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, महाधिवेशन प्रतिनिधि राकेश सिंह, महिला नेतृ किरण सरकार, मनोजा चौधरी लगायत क्रियाशील सदस्य तथा पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई क्रियाशील सदस्यता वितरण, नवीकरण, अभिलेखीकरण तथा संगठन विस्तारसम्बन्धी विषयमा विस्तृत जानकारी गराइएको थियो। साथै, सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै पार्टीको संगठनलाई तल्लो तहसम्म सशक्त बनाउने विषयमा समेत छलफल भएको थियो।
नेपाली कांग्रेस पर्साले आगामी दिनमा पनि संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा पार्टीलाई वडा तहदेखि जनस्तरसम्म अझ मजबुत बनाउने उद्देश्यका साथ यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।