कलैया । बारामा एक साताको अवधिमा डुबेर दुई बालिकाको मृत्यु भएपछि वर्षायाममा बालबालिकाको सुरक्षाप्रति गम्भीर चिन्ता बढेको छ।फरक–फरक स्थानमा भएका यी दुवै घटनामा पानी जमेको स्थानमा डुबेर बालिकाको मृत्यु भएको हो।
आइतबार साँझ सूवर्ण गाउँपालिका–७ चौरहियामा धानखेतमा जमेको पानीमा डुबेर १८ महिनाकी लालुकुमारी महतोको मृत्यु भएको छ। उहाँमहागढीमाई नगरपालिका–९ बलुवाका राजेन्द्र महतोकी छोरी हुनुहुन्छ। मावली घर आउनुभएको लालुकुमारी घर पछाडि रहेको धानखेत नजिक खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा फेला पर्नुभएको थियो।
परिवारका सदस्यले केहीबेरदेखि बालिका सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा धानखेतमा जमेको पानीमा डुबेको अवस्थामा फेला पारेका थिए। तत्काल उद्धार गरी उपचारका लागि लैजाने प्रयास गरिए पनि घटनास्थलमै उनको मृत्यु भएको बड्कीफुलबरिया प्रहरी चौकीले जनाएको छ।
बालिकाको शव प्रादेशिक अस्पताल कलैयामा पोस्टमार्टम गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो।
यसअघि असार ३२ गते करैयामाई गाउँपालिका–३ मा पनि यस्तै दुःखद घटना भएको थियो।
गौतम इँटा उद्योगले माटो उत्खनन गरी छाडेको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय गालोपाट्टी निवासी शिवनारायण चौधरीकी ११ वर्षीया छोरी रोशनी चौधरीको मृत्यु भएको थियो। बाख्रा चराउन गएकी रोशनी उद्योग परिसर नजिकैको पानी भरिएको खाल्डोमा डुबेको अवस्थामा फेला परेकी थिइन्।
लगातार भएका यी घटनाले वर्षायाममा खेत, पोखरी, कुलो, माटो उत्खननका खाल्डा तथा अन्य स्थानमा जमेको पानी बालबालिकाका लागि घातक बन्दै गएको देखिएको छ। विशेषगरी डेढदेखि पाँच वर्ष उमेर समूहका बालबालिका क्षणिक लापरबाहीका कारण पानीमा डुब्ने उच्च जोखिममा रहने भएकाले उनीहरूलाई एक्लै नछाड्न प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अभिभावकलाई आग्रह गर्नुभएको छ।
उहाँले इँटा उद्योग तथा अन्य निर्माण प्रयोजनका लागि खनिएका खाल्डा खुला रूपमा छाड्ने प्रवृत्ति रोक्न, जोखिमयुक्त स्थानमा घेराबार तथा चेतावनी बोर्ड राख्न र वर्षायाममा सार्वजनिक सुरक्षा उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
लगातार भएका यी घटनाले वर्षायाममा बालबालिकाको सुरक्षाप्रति अभिभावक र सरोकारवाला निकाय दुवैले थप जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताउनुभयो।