कलैया । बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्पनजिक सोमबार मध्यराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा ट्रकमा सवार जितपुरसिमरा उपमहानगरपालिका–८, इमली निवासी ४० वर्षीय शिवनारायण पासवान रहनुभएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पासवानलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो। उपचारकै क्रममा राति करिब १२ः५० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना १ क ४८३६ नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक सोमबार राति करिब १२ः३० बजे अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो।
दुर्घटनामा ट्रकको अगाडिको भागमा क्षति पुगेको छ भने घरको एकातर्फको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो।
दुर्घटनामा कलैया–४ निवासी ५० वर्षीय देवनारायण चौधरीसमेत घाइते हुनुभएको छ। उहाँको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको छ। उहाँको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले मिनी ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९, सिमरा भवानीपुर निवासी २७ वर्षीय राजुकुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। चालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो।