ढल्केबर । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले कानुनविपरीत जडान गरिएका कालो सिसा (टिन्टेड ग्लास) तथा कालो स्टिकर एक सयभन्दा बढी सवारीसाधनबाट हटाएको छ।
ट्राफिक प्रहरीले असार १७ गतेदेखि सञ्चालन गरेको कालो सिसा हटाउने अभियानअन्तर्गत हालसम्म ७१२ वटा सवारीसाधन जाँच गर्दा १११ वटा सवारीसाधनबाट कालो सिसा तथा कालो स्टिकर हटाइएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र दाहालले आपराधिक गतिविधि नियन्त्रण गर्न कालो सिसा तथा कालो स्टिकर हटाउने अभियान सञ्चालन गरिएको बताउनुभयो।
उहाँका अनुसार कालो सिसा हटाउँदा आपराधिक गतिविधि, अवैध कारोबार, फरार अपराधीको आवागमन, हतियार ओसारपसार तथा शंकास्पद व्यक्तिको पहिचान गर्न सहज हुनेछ।
प्रहरी निरीक्षक दाहालका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १२ अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य विशिष्ट व्यक्ति वा सर्वसाधारणले नियमानुसार धरौटी राखेपछि अधिकतम २० प्रतिशतसम्म मात्र कालो सिसा प्रयोग गर्न पाउने व्यवस्था छ।
उहाँले अभियान निरन्तर सञ्चालन हुने बताउँदै यसले सवारी आवागमनलाई थप सुरक्षित र पारदर्शी बनाउन तथा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।