घटना १ : सिराहाको चोहर्वामा एकै परिवारका तीन बालबालिकाको मृत्यु
गत २८ असारमा सिराहाको गोलबजार नगरपालिका– ७, पुरानो चोहर्वास्थित पशु हाटबजारपरिसरमा बाटोमा हाल्न माटो खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भयो । रौतहटको झिंगहर्वा– २ घर भई चोहर्वामा कबाडी संकलनको काम गर्दै आएका अब्बास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया रुविना खातुन र आठ वर्षीय छोरा साफुल शेखको डेरानजिकैको खाल्डोमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । स्थानीयका अनुसार पशु हाटबजारमा चौपायालाई पानी खुवाउन बनाइएको करिब डेढ फिटको खाल्डोलाई पश्चिमतर्फको बाटो बनाउन खनेर गहिरो बनाइएको थियो । वर्षाको पानीले भरिएको सोही खाल्डोको गहिराइ आकलन गर्न नसक्दा तीनैजनाले ज्यान गुमाउनुपरेको स्थानीयले बताए ।
घटना २ : ग्राभेल उत्खनन गरी खुला छाडेको खाल्डोमा मामा–भान्जाले गुमाए ज्यान
१८ असार ०८२ मा सिराहाकै नरहा गाउँपालिका– ३, खोरिया गाउँमा स्थानीय ठेकेदारले माटो र ग्राभेल उत्खनन गरी खुला छाडेको खाल्डोमा डुबेर नातामा मामा–भान्जा पर्ने दुई बालकको मृत्यु भयो । स्थानीय सुशील मण्डलका सात वर्षीय छोरा राहुल मण्डल र रामकुमार मण्डलका छोरा आशिष मण्डलको नुहाउने क्रममा बेपत्ता भएको २० घण्टापछि भोलिपल्ट मात्रै शव फेला परेको थियो ।
घटना ३ : इँटा उद्योगले चिम्नीका लागि खनेको खाल्डोमा दुईवर्षे बालकको मृत्यु
२६ वैशाख ०८३ मा महोत्तरीको औरही नगरपालिका– २ मा व्यवसायी हरिनारायण यादवको स्वामित्वमा रहेको ‘न्यु बाबा फिक्स इँटा उद्योग’को चिम्नी निर्माण गर्न खनिएको खाल्डोमा जमेको पानीमा खेल्ने क्रममा दुई वर्षीय बालक हिराबहादुर रानामगरको डुबेर मृत्यु भयो । उनी सोही उद्योगमा मजदुरी गर्ने सिन्धुली मरिण गाउँपालिका– ८ का दिलबहादुर रानामगरका छोरा थिए ।
सिराहाको गोलबजार नगरपालिका– ७, पुरानो चोहर्वास्थित पशु हाटबजारपरिसरमा रहेको खाल्डो । गत २८ असारमा यही खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको थियो ।
विकास निर्माणका नाममा जथाभावी खनिने र काम सकिएपछि बेवारिसे छाडिने खाल्डाखुल्डी मधेश प्रदेशमा बालबालिकाका लागि ‘मृत्युको धराप’ बन्न थालेका छन् । विनाकुनै पूर्वसतर्कता र सुरक्षा मापदण्ड नदी, सडक तथा इँटा उद्योगका लागि खनिएका खाल्डामा जमेको वर्षाको पानीमा डुबेर ज्यान गुमाउने बालबालिकाको संख्या धेरै देखिन्छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पाँच वर्षमा खोलानाला, नदी, पोखरी, तलाउ, नहर र विकास निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीमा डुबेर कुल ९८६ जनाको मृत्यु भएको छ । जसमध्ये करिब ६० प्रतिशत बालबालिका छन् । बालबालिकामा ३४५ बालक र २३६ बालिकाको ज्यान गएको छ । यसबाहेक डुबेर ज्यान गुमाउनेमा ४०५ वयस्क पुरुष र महिला छन् ।
पछिल्लोपटक सिराहा र महोत्तरीमा भएका तीनवटा घटनाले योजनाविहीन विकास र सरोकारवालाको चरम लापरबाहीलाई पुनः उजागर गरिदिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालले डुबेर हुने घटना न्यूनीकरणका लागि परिवार नै सचेत बन्नुपर्ने बताए । ‘खेल्ने उमेरका बालबालिका कहाँ गइरहेका छन्, कोसँग गइरहेका छन् भन्ने कुरामा अभिभावकले कडा निगरानी राख्न जरुरी छ,’ एसएसपी ढकालले भने, ‘समुदायले पनि पालिकासँग समन्वय गरी जोखिमयुक्त पोखरी वा खाल्डाखुल्डीको घेराबेरा गर्नुपर्छ ।’
प्रहरीले हरेक युनिटमार्फत ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत दैनिक रूपमा गाउँ–गाउँमा पुगेर जनचेतना जगाउने काम गरिरहेको जानकारी दिँदै उनले स्थानीय सरकारले पनि यस विषयमा वार्षिक योजना बनाएर काम गर्नुपर्ने सुझाव दिए ।
जल सुरक्षा नीति लागू गर्न बाल अधिकारकर्मीको माग
पानीमा डुबेर बालबालिकाको मृत्यु हुने दर निरन्तर बढेपछि बाल अधिकारका लागि नागरिक समाज संस्था सञ्जालले गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल कदम चाल्न माग गरेको छ । सञ्जालले प्रदेश र स्थानीय तहमा तत्काल जल सुरक्षा नीति निर्माण र कार्यान्वयन गरिनुपर्ने, जोखिमयुक्त पोखरी, खोला र खाल्डाखुल्डीको पहिचान गरी तत्काल घेराबेरा र चेतावनी बोर्ड राख्नुपर्ने र विकास निर्माण वा उत्खननका नाममा खनिएका खाल्डाखुल्डी सुरक्षित नगरी खुला छाड्ने ठेकेदार वा कम्पनीलाई कानुनी रूपमा जवाफदेही र दण्डित बनाउनुपर्ने माग अघि सारेको छ । त्यस्तै, विद्यालयस्तरमा जनचेतना फैलाउने, वर्षायाम लक्षित उद्धार संयन्त्रको स्थापना गर्ने र स्थानीय विपत् व्यवस्थापनमा जल सुरक्षाको सवाललाई अनिवार्य समावेश गर्नुपर्ने माग छ ।
मानवीय क्षति हुन नदिन निर्माण व्यवसायीलाई सचेत गराउन आवश्यक
गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले हाट बजारमा पशु चौपायालाई पानी खुवाउन करिब दुई दशकदेखि अस्तित्वमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीनजना बालबालिकाको दुःखद् निधनले स्तब्ध भएको बताए । ‘भवितव्य घटना भयो,’ उनले भने, ‘अनुसन्धान गर्ने निकायले छानबिन पनि गर्दै होला, तर हामीले पनि सजग हुनुपर्ने पाठ सिक्यौँ । मानिसहरूको बढी जमघट हुने ठाउँमा रहेको पोखरी, तलाउ या खाल्डाखुल्डीको पानीमा डुबेर हुनसक्ने मानवीय क्षति रोक्न पालिका, वडा कार्यालय र स्थानीय समुदायको सहकार्य जरुरी महसुस भएको छ ।’ त्यस्ता ठाउँहरूमा सन्देशमूलक सूचनासम्बन्धी बोर्ड राख्ने, मापदण्डअनुसार विकास निर्माण सम्पन्न भएपछि मानवीय क्षति हुन सक्ने खाल्डाखुल्डी तत्काल पुर्न उपभोक्ता समिति, निर्माण व्यवसायीलाई सचेत गराउनुपर्ने उनले बताए ।