सर्लाही । यो वर्ष उखुको अनुदान रकम बेलैमा प्राप्त गरेपछि किसान मक्ख परेका छन् । उखु क्रसिङ सिजन २०८२/८३ मा उखु उत्पादन गरेका किसानलाई सरकारले प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार सर्लाहीका १८ हजार ३५१ जना उखु किसानले ४१ करोड २२ लाख २१ हजार ८६९ रुपियाँ अनुदान रकम प्राप्त गरेका हुन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका लेखापाल रामबाबु यादवले असार मसान्तमै सम्पूर्ण किसानको अनुदान रकम भुक्तानी भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिनी मिलहरूले उपलब्ध गराएको विवरण अनुसार प्रत्येक किसानको बैङ्क खातामा अनुदानको रकम जम्मा भइसकेको छ ।”
अघिल्ला वर्षमा उखु किसानले अनुदान रकम निकासा गराउन आन्दोलन नै गर्नुपर्ने अवस्था हुन्थ्यो । दसैँ, तिहार, छठ जस्ता प्रमुख पर्वमा समेत अनुदान रकम नपाउँदा किसान निराश हुनुपथ्र्यो ।
यो वर्ष भने सरकारले बेलैमा अनुदान रकम पठाइदिँदा किसान दङ्ग परेका हुन् । हरिवन नगरपालिका–११ का अगुवा उखु किसान राजकुमार उप्रेतीले आन्दोलन नगरी सजिलै अनुदान रकम पाउँदा खुसी लागेको बताउनुभयो ।
उखु बिक्री गरेको इन्दुशङ्कर चिनी मिल हरिवनले समयमै प्रतिक्विन्टल ६२० रुपियाँका दरले भुक्तानी दिइसकेको र सरकारले पनि प्रतिक्विन्टल ७० रुपियाँ अनुदान रकम पठाउँदा ठुलो राहत भएको उप्रेतीको भनाइ छ । उहाँले भन्नुभयो, “उखुको पैसा प्राप्त गर्न आन्दोलन गर्नु नपरेको पहिलो पटक हो ।”
सर्लाहीमा तीन वटा चिनी मिलमध्ये अन्नपूर्ण चिनी मिल धनकौलले भने किसानको भुक्तानी नदिएपछि प्रहरीले मिलका मालिक शैलेन्द्र गुप्ता र विनोद साह कलवारलाई हिरासतमा लिएर कारबाही अघि बढाएको छ । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष श्यामबाबु रायले अन्नपूर्ण चिनी मिलबाट किसानलाई भुक्तानी दिलाउन प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीले निरन्तर समन्वय गरिरहनुभएको बताउनुभएको छ ।
अन्नपूर्णले पैसा नदिए पनि सो उद्योगमा उखु बेचेका किसानले सरकारबाट पाउनुपर्ने अनुदान रकम भने बैङ्क खातामा आइसकेको छ । अन्नपूर्ण चिनी मिलबाट भुक्तानी दिलाउने विषयमा सोमबार प्रमुख जिल्ला अधिकारीले बोलाएपछि आफूहरू सदरमुकाम मलङ्गवा पुगेर छलफल गरेको रायले जानकारी दिनुभयो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीले उखु किसानलाई चिनी मिलले दिनुपर्ने बक्यौता रकम भुक्तानीका लागि उद्योगी र किसान प्रतिनिधिबिच समन्वय गरिरहेको बताउनुभएको छ । किसानले अन्नपूर्ण चिनी मिलबाट करिब २२ करोड रुपियाँको हाराहारीमा भुक्तानी पाउन बाँकी रहेको दाबी गरेका छन् ।
यो मिलले उखु क्रसिङ सिजन २०८२/८३ मा किसानबाट ६१ करोड ६१ लाख २६ हजार ६५५ रुपियाँ चार पैसा बराबरको नौ लाख ९३ हजार ७५२.६७ क्विन्टल उखु खरिद गरेको थियो ।