वीरगञ्ज। पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेल धरौटीमा रिहा भएका छन्।
गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पोखरियाले पक्राउ गरेका पटेललाई जिल्ला प्रशासन कार्यालय पर्साले धरौटीमा रिहा गरेको हो।
गत असार २३ गते कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको आरोपमा प्रहरीले वडाध्यक्ष पटेललाई अभद्र व्यवहार मुद्दाअन्तर्गत नियन्त्रणमा लिएको थियो।
घटनापछि गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै विरोध जनाएका थिए। प्रहरी अनुसन्धानपछि उनलाई जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराइएको थियो।
जिल्ला प्रशासन कार्यालय पर्साले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पटेललाई धरौटीमा रिहा गरेको जनाएको छ। यद्यपि, घटनासम्बन्धी मुद्दाको कानुनी प्रक्रिया भने जारी रहने बताइएको छ।