काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले सिर्सिया नदीमा फोहर फ्याक्ने छ वटा उद्योगलाई प्रत्येकलाई १० लाखको दरले जरिवाना गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको अगुवाईमा सिर्सिया नदी दुर्गन्धित गर्ने उद्योग तथा कलकारखानालाई प्रदूषण नियन्त्रण गर्नका एक महिनाको समय सीमा दिइएको थियो ।
एक महिनाको अवधिमा उद्योग कलकारखानाबाट निस्कने फोहरमैला तथा प्रदूषण नियन्त्रण नगरेको भन्दै उद्योग विभागले १२ वटा उद्योगलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।
उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले छ वटा उद्योग १० लाखका दरले जरिवाना गरेको बताउनुभयो । उहाँका अनुसार जगदम्बा स्टिल इन्डस्ट्रिज लिमिटेड, बारा, हुलास स्टिल इन्डस्ट्रिज प्रालि बारा, शिवशक्ति घिउ उद्योग प्रालि, बारा, सुशील वनस्पति प्रालि, पर्सा, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स, बारा र अशोक स्टिल इन्डष्ट्रिज प्रालि बारालाई १० लाखको दरले जरिवाना गरिएको छ ।
उद्योग विभागले मधेस प्रदेश सरकार मातहत पर्ने छ वटा उद्योग तथा कलकारखानालाई आवश्यक कारबाही गर्नका लागि सिफारिस गरेको जनाएको छ । यसअघि वातावरण विभागको प्राविधिकसहितको अनुगमन टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत निरीक्षण गरी फोहर पानीको नमूना सङ्कलन गरेको थियो ।
नमूना सङ्कलन गरेकामध्ये १२ वटा उद्योग कलकारखानाबाट निस्कने पानी प्रदूषित भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । सिर्सिया नदी वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौँदेखि रसायनयुक्त फोहर पानी मिसिँदै आएपछि अत्यधिक प्रदूषित हुँदै आइरहेको छ ।
मन्त्री यादवले उद्योगबाट निस्कने फोहरमैलाले नदीलाई प्रदूषित गराएको खण्डमा आवश्यक निरीक्षण गरेर जरिवाना गर्नका लागि निर्देशन दिनुभएको छ ।