वीरगञ्ज । वीरगञ्जबाट प्रसारण हुने My TV विरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्साले पत्राचार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्साले गम्भीर आपत्ति जनाएको छ। महासंघले उक्त कदमलाई संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गर्दै तत्काल यस्ता गतिविधि रोक्न प्रशासनसँग माग गरेको छ।
महासंघका अनुसार वीरगञ्ज महानगरपालिका–३१ का वडाध्यक्षले दिएको उजुरीका आधारमा जिल्ला
प्रहरी कार्यालय, पर्साले My TV लाई पत्र काटेको हो। तर, कुनै सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्रीप्रति असहमति भएमा सर्वप्रथम सम्बन्धित सञ्चारमाध्यमसँग खण्डन, स्पष्टीकरण वा प्रतिक्रिया माग्ने र आवश्यक परे प्रेस काउन्सिल नेपालजस्ता अधिकारप्राप्त निकायमा उजुरी दिने कानुनी व्यवस्था रहेकाले प्रहरीमार्फत प्रत्यक्ष हस्तक्षेप गर्नु विधिसम्मत अभ्यास नभएको महासंघले जनाएको छ।
महासंघले सञ्चारसम्बन्धी विवादमा कानुनले तोकेको प्रक्रिया अवलम्बन नगरी प्रहरी संयन्त्र प्रयोग गर्नु प्रेसमाथि अनावश्यक दबाब सिर्जना गर्ने कार्य भएको उल्लेख गरेको छ। यसले स्वतन्त्र पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथि प्रतिकूल प्रभाव पार्ने महासंघको भनाइ छ।
प्रेस विज्ञप्तिमार्फत महासंघले प्रशासनलाई संविधान, प्रचलित कानुन तथा लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै सञ्चारमाध्यममाथि हस्तक्षेप नगर्न आग्रह गरेको छ। साथै, प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेपविरुद्ध पत्रकार महासंघ सशक्त रूपमा उभिने चेतावनीसमेत दिएको छ।