धनुषा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साङ्गठनिक सुदृढीकरण, आन्दोलन र पार्टी निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।
बुधबार जनकपुरमा आयोजित नेकपा मधेस प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै प्रचण्डले मधेसमा बलियो पार्टी बनाउन सकिएमा समग्र देश र कम्युनिस्ट आन्दोलनका लागि ठुलो योगदान पुग्ने बताए। मधेसमा पार्टी बलियो बनाउन नसकिए ठुलो दुर्घटना व्यहोर्नुपर्ने खतरा रहेको समेत उनले चेतावनी दिएका छन्।
पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा बोल्दै प्रचण्डले पार्टीभित्र कार्यविभाजन र जिम्मेवारी बाँडफाँडमा केही तलमाथि परेको स्वीकार गरेका छन्। उनले नेता तथा कार्यकर्ताहरूका गुनासो र असन्तुष्टिलाई कार्यविभाजनको पुनरावलोकन गरी सम्बोधन गर्ने र सन्तुलन मिलाउने प्रतिबद्धता जनाएका छन्।