काठमाडौं । बजेटमा १ साउनदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था रहे पनि नेपाल विद्युत् प्राधिकरणले असारदेखि विद्युत् महसुलमा भ्याट जारी गर्न थालेको छ ।
गत जेठ १५ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत १ साउनदेखि ५० युनिटभन्दा माथिको बिजुली बिलमा भ्याटको व्यवस्था गरेका थिए । तर, प्राधिकरणले असारमा उपभोग गरेको बिजुलीको बिल साउनमा तिर्दा समेत भ्याट बिल जारी गर्न थालेको छ ।
असारमा उपभोग गरेको बिजुलीको बिल साउनमा तिर्दा समेत ५ प्रतिशत भ्याट बिल काटेपछि चौतर्फी विरोध सुरु भएको छ । सरकारले १ साउनदेखि विद्युत् महसुलमा भ्याट लागु गरे पनि असारमा उपभोग भएको बिजुलीको बिल साउनमा तिर्दा पनि ५ प्रतिशत भ्याट जोडिएर आउन थालेपछि उपभोक्ताबीच अन्योल र विरोध बढेको हो ।
सामाजिक सञ्जालमा धेरै उपभोक्ताले असारमा खपत गरेको विद्युत् बिलमा पनि भ्याट लगाइएको भन्दै बिल सार्वजनिक गरेका छन् । उनीहरूको प्रश्न छ, ‘साउनदेखि लागु भएको कर असारको खपतमा कसरी लाग्यो ?’
तर, प्राधिकरणले भने यो खपतको मितिसँग नभई बिल जारी हुने मितिसँग सम्बन्धित विषय भएको दाबी गरेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार सरकारले बजेट मार्फत विद्युत् महसुलमा भ्याट १ साउनदेखि लागु गर्ने व्यवस्था गरेपछि सोही दिनदेखि प्राधिकरण भ्याटमा दर्ता भएको हो ।

उनका अनुसार १ साउनपछि प्राधिकरणले जारी गर्ने सबै बिल भ्याट प्रणाली अन्तर्गत बिल हुन्छन् । त्यसैले बिलमा समावेश भएको विद्युत् खपत जुनसुकै अवधिको भए पनि १ साउनपछि जारी भएको बिलमा भ्याट समावेश हुने ती अधिकारीको भनाइ छ ।
‘यो खपतसँग सम्बन्धित विषय होइन, बिल जारी भएको मितिसँग सम्बन्धित विषय हो,’ ती अधिकारीले भने, ‘साउन १ पछि जारी हुने छुट बिलमा समेत भ्याट लाग्छ, चाहे त्यो एक वर्षअघिको खपतकै किन नहोस् ।’
उनका अनुसार सरकारले विद्युत् महसुलमा भ्याट साउनदेखि लागु गर्ने निर्णय गर्दा प्राधिकरणलाई आवश्यक प्राविधिक तयारीका लागि समय दिएको थियो । त्यसपछि १ साउनदेखि सबै बिल भ्याट प्रणाली मार्फत जारी हुन थालेका हुन् ।
आर्थिक ऐनमार्फत मूल्य अभिवृद्धि कर ऐन २०५२ संशोधन गरी ‘अन्तिम उपभोक्तालाई विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले ऐन अनुसार र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा ५ प्रतिशतका दरले कर निर्धारण गरी असुल उपर गर्नुपर्ने छ,’ भन्ने व्यवस्था छ ।
उक्त दफा भने १ साउनदेखि लागु हुने व्यवस्था गरिएको हो । तर, प्राधिकरणले असारमै उपभोग गरेको बिजुलीमा भ्याट लगाएको हो ।
यता आन्तरिक राजस्व विभागका सूचना अधिकारी केशव रघुवंशी भने सम्बन्धित बिल नहेरी उकिन गर्न नसकिने बताउँछन् । उनले बिलिङ र मिटर रिडिङका आधारमा मात्रै निष्कर्ष निकाल्न सकिने बताए ।

उनका अनुसार प्राधिकरणले प्रत्येक महिना अन्तिम दिन मिटर रिडिङ नगरी ५, ६ वा अन्य दिन रिडिङ गर्ने भएकाले कुनै बिलमा साउनको प्रारम्भिक खपत समेत समावेश भएको हुन सक्छ ।
‘यदि मिटर रिडिङ साउनमा भएको छ भने साउनको खपत पनि त्यसमा समावेश भएको हुन सक्छ,’ उनले भने, ‘तर, असार भित्रै रिडिङ गरिएको हो भने भ्याट लाग्नु हुँदैन ।’
प्राधिकरणले भने खपत अवधिभन्दा पनि १ साउनपछि जारी हुने सबै बिल भ्याट प्रणाली अन्तर्गत पर्ने अडान राखेको छ भने राजस्व विभागले भने वास्तविक अवस्था सम्बन्धित बिल र रिडिङको विवरण हेरेर मात्रै पुष्टि गर्न सकिने जनाएको छ ।
यसले असारको खपतमा साउनदेखि भ्याट लाग्ने विषयमा प्राधिकरण र कर प्रशासनको व्याख्यामा समेत केही अस्पष्टता देखिएको छ । प्राधिकरणले मासिक ५० युनिटसम्म बिजुली खपतमा भ्याट नजोडिने र त्योभन्दा माथिको युनिटमा ५ प्रतिशत भ्याट जोड्न थालेको हो ।
सम्भार: अनलाइन खबर