काठमाडौं । गृह प्रशासनको नेतृत्व व्यवस्थापनमा देखिएको गम्भीर लापरबाही र निर्णयहीनताले अन्ततः सुनसरीको देवानगञ्जमा एक युवाको ज्यान गएको भन्दै सुरक्षा संयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ ।
संवेदनशील सीमाक्षेत्र सुनसरीमा झण्डै एक महिनादेखि सशस्त्र प्रहरी गणको कमान्डर रिक्त राखिएको अवस्थामै दुई समुदायबीचको विवाद हिंसात्मक बन्दै जाँदा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने १३ सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।
गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि गत असार ३० गते सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर–४ गण इनरुवाका एसपी श्याम कार्कीलाई मुख्यालय तानियो । तर, उनको स्थानमा आजसम्म नयाँ गणपति पठाइएन । झापाबाट तानिएका एसपी अम्बिकाप्रसाद जोशीको ठाउँ पनि खाली नै राखियो । सीमावर्ती र अत्यन्त संवेदनशील दुई जिल्लालाई नेतृत्वविहीन बनाइएको निर्णय अहिले गृह प्रशासनकै लागि प्रश्न बनेको छ ।
सशस्त्र प्रहरीका अधिकारीहरूका अनुसार, छानबिन गर्ने नाममा कमान्डर फिर्ता बोलाइए पनि नयाँ जिम्मेवार अधिकारी नपठाइनु सुरक्षा व्यवस्थापनको गम्भीर कमजोरी हो ।
“कमान्डर तानेपछि अर्को अधिकारी तुरुन्त पठाउनुपर्थ्यो । तर गृह मन्त्रालयले त्यसमा चासो नै दिएन,” एक वरिष्ठ अधिकारीले भने ।
सुनसरी भारतसँग जोडिएको उच्च सुरक्षा जोखिम भएको जिल्ला हो । यहाँ लागुऔषध र गाँजाको तस्करी, सीमापार अपराध तथा साम्प्रदायिक तनाव नयाँ विषय होइन । यस्तो जिल्लामा गणपति रिक्त राखिनु स्वयंमा सुरक्षा जोखिम निम्त्याउने निर्णय भएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।
स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलबीच सरुवालाई लिएर देखिएको मतभेदका कारण असार मसान्तदेखि कार्यकाल सकिएका आठ गणका गणपतिको सरुवा रोकिएको छ । यसको प्रत्यक्ष असर फिल्ड कमान्डमा परेको दाबी सुरक्षा स्रोतको छ ।
आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा बजाइएको डिजेलाई लिएर दुई समुदायबीच विवाद सुरु भयो । प्रारम्भिक अवस्थामै प्रभावकारी कमान्ड र समन्वय हुन नसक्दा विवाद विस्तारै हिंसात्मक झडपमा परिणत भयो । दुवै पक्षबाट ढुंगा, लाठी, चिर्पट र भालासहित आक्रमण भएपछि अवस्था नियन्त्रणबाहिर गएको थियो ।
झडपमा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईसहित आठ नेपाल प्रहरी र पाँच सशस्त्र प्रहरी घाइते भए । प्रहरी निरीक्षक राईले तीन राउन्ड हवाई फायर गरे पनि अवस्था नियन्त्रणमा आएन । त्यसपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो । स्थानीयका अनुसार अन्य केही युवाको पेट र छातीमा पनि गोली लागेको छ ।
स्थानीय र राजनीतिक प्रतिनिधिहरूले भीड नियन्त्रणका वैकल्पिक उपाय अपनाउन नसकी सिधै घातक बल प्रयोग गरिएको आरोप लगाएका छन् । घटनास्थल पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लालविक्रम थापाले सर्वसाधारणलाई ताकेर गोली चलाइएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
घटनापछि मात्रै कोशी प्रदेश प्रहरी गण र विभिन्न सुरक्षा निकायबाट ३७६ जना अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ भने देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
सामान्य विवादलाई समयमै नियन्त्रण गर्न नसक्नु, संवेदनशील जिल्लामा लामो समयसम्म कमान्डर रिक्त राख्नु र त्यसपछि गोली चलाउनुपर्ने अवस्था सिर्जना हुनु गृह प्रशासनको नेतृत्व, निर्णय क्षमता र सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्नका रूपमा उभिएको छ ।
