काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक युवकको मृत्यु भएपछि घटनालाई लिएर बालेन सरकारमाथि सुनसरीका सांसदले प्रश्न उठाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद लालविक्रम थापाले प्रहरीले “अबोध युवामाथि ताकीताकी गोली हानेको” आरोप लगाएका छन् । उनले घटनास्थलमै पुगेर सरकारप्रति आक्रोश पोखेका छन् ।
सांसद थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा प्रहरीले कसैको छाती र कसैको पेटमा गोली लागेको दाबी गर्दै भनेका छन्, “समन्वय गरेको भए गोली चलाउनुपर्ने अवस्था नै आउने थिएन ।” उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
गएराति भएको घटनामा गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक समूह डीजे बजाएर नाचिरहेका बेला अर्को समूहसँग विवाद भएपछि झडप भएको थियो । झडप उग्र बनेपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको दाबी गरेको छ ।
घटनामा गोली लागेर आठ जना घाइते भएका छन् भने झडपका क्रममा तीन जना प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि सुरक्षा निकायले बल प्रयोग गरेको तरिका, गोली चलाउनु आवश्यक थियो वा थिएन भन्ने विषयमा बहस सुरु भएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।