सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनापछि जिम्मेवारी खोसिएका दुई वरिष्ठ प्रहरी अधिकारी बिदामा रहको खुलेको छ ।
घटनाका दिन कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरे बिदामा रहेका थिए । उनको अनुपस्थितिमा एसएसपी योगेन्द्रसिंह थापाले प्रदेश प्रहरीको नेतृत्व सम्हालिरहेका थिए ।
घटनापछि डीआईजी घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा पठाउने निर्णय भएको छ ।
यस्तै, घटनाका बेला जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबे बुबाको उपचारका लागि चार दिनदेखि बिदामा रहेका थिए ।
उनको अनुपस्थितिमा प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले निमित्त जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनापछि प्रहरी प्रधान कार्यालयले एसपी थेबेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ भने उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई जिल्ला प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ ।
गएराति देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको थियो । घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए ।