वीरगञ्ज । मधेसमा जारी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय, डीनको कार्यालयले स्नातकोत्तर तहको 'मास्टर अफ बिजनेस स्टडिज' कार्यक्रमअन्तर्गत साउन १५ गते सञ्चालन हुने भनिएको 'बजार व्यवस्थापन ' विषयको परीक्षा स्थगित गरेको छ।
परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुरद्वारा जारी सूचना अनुसार विशेष परिस्थितिका कारण केही निश्चित परीक्षा केन्द्रहरूमा मात्र अर्को सूचना नआएसम्मका लागि उक्त विषयको परीक्षा स्थगित गरिएको हो। स्थगित भएका परीक्षा केन्द्रहरूको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने डीनको कार्यालयले जनाएको छ।
परीक्षा स्थगित गरिएका परीक्षा केन्द्रहरूमा जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, सर्लाहीको सर्लाही क्याम्पस मलंगवा र जनज्योति बहुमुखी क्याम्पस लालबन्दी रहेका छन्।
यसैगरी सिराहाका सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस र जे.एस. मुरारका बहुमुखी क्याम्पस लहान, सप्तरीका श्री महेन्द्रविन्देश्वरी बहुमुखी क्याम्पस राजविराज र नेसनल पिपुल कलेज कञ्चनपुर, रौतहटका जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर र गौरीशंकर यादव रौतहट क्याम्पस गौर, बाराको सिमरा कलेज तथा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा परीक्षा स्थगित गरिएको छ।
सूचनामा उल्लेख गरिएका यी ११ वटा परीक्षा केन्द्रहरू बाहेक अन्य केन्द्रहरूमा भने पूर्वनिर्धारित तालिका अनुसार नै परीक्षा सञ्चालन हुने त्रिविले स्पष्ट पारेको छ।
