विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा साउन १० गते राति भएको गोलीकाण्डमा घाइते भएका ८ जनाको उपचार अझै जारी रहेको छ। उनीहरूमध्ये दुई जनाको काठमाडौं र ६ जनाको विराटनगरका अस्पतालमा उपचार भइरहेको हो।
उपचारका क्रममा एक घाइतेले गोली लागेको खुट्टा गुमाएका छन् भने अर्का एक जनाको हातसमेत काट्नुपर्ने अवस्था आउन सक्ने चिकित्सकहरूले बताएका छन्। देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहता अहिले काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत छन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विराटनगरको विराट नर्सिङ होमबाट उनलाई एयर एम्बुलेन्समार्फत शुक्रबार काठमाडौं लगिएको थियो।
गोली लाग्दा बायाँ तिघ्राको नसामा गम्भीर क्षति पुगेको चिकित्सकले बताएका छन्। विराटमै नसाको शल्यक्रिया गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो। उपचारमा संलग्न उनका दाजु (ठूलोबुवाका छोरा) राजेश मेहताका अनुसार चिकित्सकको सल्लाहमा रवीन्द्रको गोली लागेको बायाँ खुट्टा काट्नुपरेको छ। उनका अनुसार अहिले पनि स्वास्थ्य अवस्था चिन्ताजनक रहेकाले चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
घटनामा घाइते भएका अर्का युवक देवानगन्ज–३ का १८ वर्षीय अमित यादव काठमाडौंकै ट्रमा सेन्टरमा उपचाररत छन्। विराटनगरको नोबेल शिक्षण अस्पतालबाट नेपाली सेनाको स्काई ट्रकमार्फत बिहीबार काठमाडौं लगिएका उनलाई बायाँ हात र कोखामा गोली लागेको चिकित्सकले बताएका छन्। उपचारमा संलग्न छिमेकी जनार्दन यादवका अनुसार अमितको स्वास्थ्यमा केही सुधार आएर बोल्न थाले पनि गोली लागेको हात जोगाउने वा काट्ने भन्ने विषयमा चिकित्सकहरूबीच परामर्श भइरहेको छ। अमितको हात संकटमा रहेको जानकारी उनले दिए।
विराटनगरस्थित न्युरो अस्पतालमा हाल तीन जना घाइतेको उपचार भइरहेको छ। देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहताको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो। शल्यक्रियामार्फत गोली निकालिएको छ र उनी आईसीयूमा उपचाररत छन्। अस्पतालका अनुसार उनको अवस्था मध्यम छ।
त्यही अस्पतालमा उपचाररत देवानगन्ज–४ का २२ वर्षीय हरेराम यादवको दुवै तिघ्राको बीच भागमा गोली लागेको थियो। शल्यक्रिया सम्पन्न भइसकेको र अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्। देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको बायाँ पिठ्युँमा गोली लागेको थियो। उनको पनि सफल शल्यक्रिया भइसकेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
विराट नर्सिङ होममा तीन जना घाइते उपचाररत छन्। देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहताको बायाँ घुँडामुनिको पछाडिको भागमा गोली लागेको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादवको कम्मरको अगाडिबाट गोली प्रवेश गरी पछाडिबाट निस्किएको थियो। शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको चिकित्सकले बताए। त्यस्तै, देवानगन्ज–४ कै २६ वर्षीय सुनील मेहताको बायाँ कुहिनामा गोली लागेको थियो। उनको पनि शल्यक्रिया सम्पन्न भइसकेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
साउन १० गते राति दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा १० जना युवा गोली लागेर घाइते भएका थि ए। घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै राति मृत्यु भएको थियो भने देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भयो।
सरकारसँग सहमति भएपछि दुवै मृतकको शव परिवारले बुझेर शुक्रबार राति अन्त्येष्टि गरिसकेको छ। प्रहरीका अनुसार घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए। घटनापछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए। दुई दिनसम्म तनावपूर्ण बनेको अवस्था अहिले विस्तारै सामान्य बन्दै गएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।