जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच जारी विरोध प्रदर्शन साम्य पार्न मौखिक सहमति भएको छ। सुनसरी घटनापश्चात् मधेसमा चर्किएको प्रदर्शन रोक्न गृहमन्त्री गुरुङ र मोर्चाबीच मौखिक सहमति भएको हो।
सहमतिसँगै सबै समूहले आन्दोलनका कार्यक्रम हालका लागि फिर्ता लिएको घोषणा गरेका छन्। सरकारले पनि मोर्चाले राखेका मागहरू पूरा गर्ने आश्वासन दिएको छ। तर, नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने उनीहरूको मुख्य मागमा कुनै लिखित सहमति नभएको रास्वपा नेता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले जानकारी दिए।
‘उहाँहरूले उठाइरहनुभएका संवैधानिक, व्यवहारिक र सामाजिकरूपमा सम्भव भएका मागका बारेमा मात्रै छलफल गरेका छौं। त्यस्ता मागहरू सरकारले सम्बोधन गर्न सकिने पनि हामीले बताएका छौं। तर, कतिपय मागहरूका विषयमा अझै छलफल गर्न सकिन्छ। त्यस्ता मागमा सरकारले आवश्यक छलफल गर्ने भनेका छौं,' अन्नपूर्णसँग उनले भने।
शनिबार आयोजना गरिएको वार्तामा मोर्चाले गृहमन्त्रीसमक्ष १३ बुँदे माग राखेको थियो। जसमध्ये नेपाललाई हिन्दूराष्ट्र बनाउने माग पनि एक थियो। उक्त मागपत्र गृहमन्त्रीले बुझेर थप छलफलका लागि आइतबार मोर्चालाई डाकेका थिए।
‘मोर्चासँग निकै लामो छलफल भयो। वार्ताका क्रममा केही मागहरू थपघट गरिएको थियो। हिजोका केही अस्पष्टताहरूलाई आज प्रष्ट गरेर वार्ता टुंगिएको हो’, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले भने। उनका अनुसार आन्दोलनरत पक्षलाई सन्तुष्ट पारेकै कारण आन्दोलनको कार्यक्रमहरू फिर्ता लिइएको हो।
यता, वर्तामा बसेका हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले आफूहरूको मागमध्ये केही माग सच्याएर वार्ता सफल बनाइएको बताए। ‘यो प्रर्दशनको क्रममा केही पुराना राजनीतिक दलहरूले आफ्नो रोटी सेक्ने प्रयास गरेका छन्। तर, हामी यो सम्भव हुन दिदैंनौं,’ उपाध्यक्ष कृष्ण भन्छन्, ‘आजको वार्तामा १३ बुँदे मागमा सहमति हुनुका साथै केही कुरालाई सच्याएर लग्ने छलफल भयो। अबका दिनमा कुनै पनि हिन्दू धर्मावलम्बीले प्रहरीको गोली खाएर मर्नु पर्दैन भन्ने प्रतिबद्धता गृहमन्त्रीज्यूले व्यक्त गर्नु भएको छ।’