नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारिको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सुस्तावासीबिच विवाद भएको छ। भारतीय सुरक्षाकर्मीले नारायणी नदी नियन्त्रणका लागि सुस्तावासीले बनाएको अस्थायी बाँध भत्काउन थालेपछि विवाद भएको हो।
आज दिउँसो माटो भरेर बनाइएको अस्थायी बाँध भारतीय पक्षले भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेको सुस्ता बचाऊ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिनुभयो। सुस्तामा नारायणी नदीको बाढी पस्न थालेपछि तटबन्ध नभएको स्थानमा माटो भरेर स्थानीयले करिब एक सय मिटर अस्थायी बाँध निर्माण गरेका थिए। उक्त बाँध विवादित क्षेत्रमा निर्माण भएको भन्दै भारतीय पक्षले नेपाली भूमि प्रवेश गरेर भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेको जयसवालले बताउनुभयो।
नारायणी नदीमा सङ्घीय सरकारले दुई खण्डमा विभाजन गरेर तटबन्ध निर्माणको प्रयास गरेको भए पनि नदी किनारको पूर्वी खण्डमा भारतले तटबन्ध निर्माणमा रोक लगाएको थियो। १३२ मिटर लामो तटबन्ध बनाउन एक करोड ४० लाख रुपियाँमा ठेक्का सम्झौता भएर काम सुरु गर्न लाग्दा भारतीय सुरक्षा निकायले अवरोध गरेपछि गत जेठ २९ गते तनाव भएको थियो। त्यसपछि उक्त ठेक्का कार्यान्वयन हुन सकेन। भारतले तटबन्ध निर्माण रोकेकै स्थानमा अहिले सुस्तावासीले बाढी पस्न थालेपछि अस्थायी बाँध निर्माण गरिरहेका थिए। सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले अस्थायी बाँध भत्काउन थालेपछि स्थानीयहरू लाठीभाटा लिएर प्रतिकारमा उत्रिएका थिए। केही बेर तनावको अवस्था भए पनि अहिले स्थिति सामान्य रहेको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले नेपाल–भारतको सीमावर्ती क्षेत्रनजिक माटो भरेर स्थानीयले अस्थायी बाँध निर्माण गर्न थालेका कारण भारतीय सुरक्षा निकाय बुझ्न आउँदा सामान्य विवाद भएको बताउनुभयो। भोलि स्थानीय र सुरक्षा निकायबिचको आपसी छलफलबाट समस्या समाधान गर्ने उहाँले जानकारी दिनुभयो।
नारायणी नदीपारिको ऐतिहासिक भूमि सुस्तामा स्थानीय र भारतीय सुरक्षा निकायबिच बेलाबेलामा विवाद हुँदै आएको छ। सुस्तामा कुनै सीमा स्तम्भ छैन। जसका कारण सीमाको विषयमा विवाद हुँदै आएको छ। विगतमा सिमलको रुखलाई सिमाना मान्ने दुवै देशको सीमावर्ती क्षेत्रका सुरक्षा निकायबिच सहमति भए पनि पछिल्लो समय भारतीय पक्षले सिमलको रुखभन्दा वरै रहेको कदमको रुखलाई सीमा मान्दै आएको छ। सो क्षेत्रबाट सुस्ता गाउँमा बाढी पस्ने जोखिम छ।