वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साद्वारा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले "२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट" सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रम अन्तर्गत प्रतिमाचोक, मुर्ली, गण्डक, परवानीपुर लगायत विशेषगरी मिलनचोक, बहुअर्वा र ठोरी जस्ता ग्रामीण बस्तीलाई प्राथमिकतामा राखी दुई पाङ्ग्रे सवारी चालकसँग प्रत्यक्ष संवाद गर्दै ट्राफिक नियमबारे सचेत गराइएको हो।
यस क्रममा हेल्मेटको अनिवार्य प्रयोग, मोटरसाइकलमा तीन जना वा सोभन्दा बढी सवार नहुने, मापसे तथा लापसे गरी सवारी नचलाउने, तीव्र गतिमा सवारी नहाक्ने, आवश्यक कागजात साथमा राख्ने तथा ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने विषयमा जानकारी दिइएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार चालकसँग करिब दुई मिनेट संवादमार्फत सुरक्षित यात्रा, जिम्मेवार चालकको भूमिका तथा सडक दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराइएको हो। यस्ता सचेतनामूलक कार्यक्रम आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानमा निरन्तर सञ्चालन गरिने जनाइएको छ।