पोखरिया, पर्सा । पर्सा प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो सफलता हासिल गर्दै २०७ किलो अवैध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईको निर्देशनमा सञ्चालन भइरहेको विशेष अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको हो।
पर्साका बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा सवारी साधन चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा रहेको टोली तथा प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप गाडीलाई रोकी खानतलासी गरेको थियो।
खानतलासीका क्रममा पिकअपभित्र सिमेन्टको बोरामा लुकाइछिपाई राखिएको अवस्थामा २०७ किलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरिएको छ।
बरामद गाँजा र पिकअप गाडीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।
यस सफलतापछि प्रहरी निरीक्षक प्रदीप पौडेलले लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “लागुऔषध समाजका लागि गम्भीर चुनौती हो। यसविरुद्ध पर्सा प्रहरी निरन्तर सक्रिय छ। नागरिकको सहयोग र प्रहरीको सतर्कताका कारण यस्ता अवैध गतिविधि नियन्त्रण गर्न सफलता मिलिरहेको छ। आगामी दिनमा पनि यस्ता अभियानलाई थप सशक्त बनाइनेछ।”
पर्सा प्रहरीले जिल्लाभर लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउँदै कानुनी कारबाहीलाई निरन्तरता दिने जनाएको छ।