पर्सा । पकहाँमैनपुर गाउँपालिकाका प्रशासन शाखा प्रमुख डा. रमेश मेहताको चरम गैरजिम्मेवारपन र मनपरीका कारण गाउँपालिकाको सेवा प्रवाह पूरै अस्तव्यस्त बनेको छ। नियमानुसार बिहान ९ बजे नै कार्यालय आइपुग्नुपर्नेमा उनी दैनिकजसो ११ बजेपछि मात्रै छिर्ने गरेपछि सेवाग्राहीहरू दिनहुँ सास्ती भोग्न बाध्य भएका छन्।
स्वास्थ्य सेवा पृष्ठभूमि भएका डा. रमेश मेहतालाई सुरजहा स्वास्थ्य चौकीको इन्चार्जबाट तानेर गाउँपालिकाको प्रशासन शाखा प्रमुख बनाइनु आफैँमा ठूलो शङ्कास्पद विषय बनेको छ। वडा नम्बर १ का वडाध्यक्ष विनोद मेहताका आफ्नै भाइ भएकै कारण शक्ति र पहुँचको दुरुपयोग गरी उनलाई पालिकाको मुख्य प्रशासनिक जिम्मेवारी सुम्पिएको स्थानीयको आरोप छ।
योग्यता, क्षमता र सम्बन्धित क्षेत्रको मापदण्डलाई लत्याएर नातावादका आधारमा गरिएको यो सरुवा र पदस्थापनले गाउँपालिकाभित्र नाङ्गो राजनीति र प्रशासनिक थिति बिगारेको स्पष्ट देखिन्छ।
वडाध्यक्ष भाइको राजनीतिक संरक्षण र प्रमुख प्रशासकीय अधिकृतसँगको अस्वाभाविक निकटताकै आडमा डा. मेहताले कार्यालयलाई आफ्नो निजी मर्जी चलाउने थलो बनाएका छन्। बिहान ९ बजे सेवा लिन आउने सर्वसाधारणहरू २-२ घण्टासम्म हाकिमको पर्खाइमा भौँतारिन बाध्य छन्। दूरदराजबाट विभिन्न सिफारिस, कागजात र दैनिक प्रशासनिक कामका लागि पुग्ने नागरिकहरूलाई रित्तो हात फर्काउने र कुराउने प्रवृत्तिले गाउँपालिकामा चरम अराजकता सिर्जना गरेको छ।
यस्तो गम्भीर ढिलासुस्ती र अनियमितता हुँदा पनि प्रमुख प्रशासकीय अधिकृतले मौनता साध्नु र कारबाहीको साटो संरक्षण दिनुले सेटिङको आशङ्कालाई थप बल पुर्याएको छ। जनताको करबाट तलब-भत्ता खाने कर्मचारीले शक्तिको घमण्डमा यसरी सेवाग्राहीलाई सास्ती दिनु र सार्वजनिक प्रणालीको धज्जी उडाउनु घोर निन्दनीय छ।
यस विषयमा डा. रमेश मेहतासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। निष्पक्ष छानबिन गरी नातावादका आधारमा गरिएको यस्तो सरुवा रद्द नगरेसम्म र दोषीमाथि कडा कारबाही नभएसम्म पकहाँमैनपुर गाउँपालिकामा मौलाएको यो पहुँचको राजनीति र सास्ती अन्त्य हुने देखिँदैन।