पर्सा । पकहाँमैनपुर गाउँपालिका–स्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयको पुरानो भवन भत्काएर निकालिएको इँटा, काठ तथा अन्य सामग्री लिलाम गर्ने निर्णय भएको करिब दुई वर्ष बितिसक्दा पनि प्रक्रिया अघि नबढ्दा लाखौँ रुपैयाँ बराबरको सरकारी सम्पत्ति नष्ट हुने अवस्थामा पुगेको छ।
गाउँपालिकाले २०८१ मंसिर १५ गते विद्यालयलाई पुरानो भवनबाट प्राप्त सामग्री कानुनबमोजिम लिलाम गर्न लिखित सहमति दिएको कागजातले देखाउँछ। तर २०८३ सालसम्म पनि लिलाम प्रक्रिया सम्पन्न नभएकाले सामग्री खुला आकाशमुनि वर्षा र घाममा बिग्रँदै गएको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार समयमै लिलाम भएको भए सरकारी सम्पत्तिबाट आम्दानी हुन सक्ने अवस्था थियो। अहिले भने इँटा, काठलगायतका सामग्री क्रमशः प्रयोग गर्न नसकिने अवस्थामा पुग्दै गएको उनीहरूको भनाइ छ।
स्थानीयले विद्यालयका प्रधानाध्यापक मनोज यादव, वडा अध्यक्ष सञ्जय चौहान तथा गाउँपालिका अध्यक्ष सुरेश मेहता ले यस विषयमा आवश्यक चासो नदिएको आरोप लगाएका छन्। विद्यालयको सम्पत्ति संरक्षण र लिलाम प्रक्रिया टुंग्याउन उनीहरूले प्रभावकारी पहल नगरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीयवासीले सरकारी सम्पत्ति संरक्षणमा सम्बन्धित निकायको जिम्मेवारी भए पनि जनप्रतिनिधि र विद्यालय प्रशासनबीचको निष्क्रियताका कारण सरकारी सम्पत्तिमा लाखौँ रुपैयाँ बराबरको क्षति हुन लागेको दाबी गरेका छन्। उनीहरूले यस विषयमा तत्काल छानबिन गरी जिम्मेवार पक्षलाई जवाफदेही बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
यस विषयमा प्रधानाध्यापक मनोज यादव, वडा अध्यक्ष सञ्जय चौहान तथा गाउँपालिका अध्यक्ष सुरेश मेहताको प्रतिक्रिया लिन प्रयास गरिएको भए पनि समाचार तयार पार्दासम्म प्राप्त हुन सकेन। प्रतिक्रिया प्राप्त भएमा प्रकाशित गरिनेछ।