पर्सा। पर्साको पकहाँमैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहमाथि स्थानीयवासीले नातावाद, स्वार्थ बाझिने निर्णय तथा विकास निर्माणमा अनियमितता गरेको आरोप लगाएका छन्।
स्थानीयका अनुसार प्रमुख प्रशासकीय अधिकृत साह लामो समयदेखि सोही गाउँपालिकामा कार्यरत रहँदै आएको र सरकारले कर्मचारीको सरुवा तथा कार्यअवधिसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन हुन नसकेको दाबी गरिएको छ।
स्थानीयले आरोप लगाएअनुसार गाउँपालिकामा कार्यभार सम्हालेपछि पोखरी ठेक्का प्रक्रियामा आफ्नै गाउँका व्यक्तिहरूलाई प्राथमिकता दिई अन्ततः आफ्ना आफन्तको संलग्नतामा काम गराइएको दाबी गरिएको छ। यद्यपि, यस सम्बन्धमा आधिकारिक निकायबाट पुष्टि हुन बाँकी छ।
त्यसैगरी, वडा नं. २ अन्तर्गत सुजहाँ र मानिकपुर क्षेत्रमा सम्पन्न सडक ढलान निर्माणमा कमसल सामग्री प्रयोग भएको स्थानीयको आरोप छ। निर्माण कार्यमा आफ्ना आफन्तको संलग्नता रहेको र गुणस्तरमा प्रश्न उठेको उनीहरूको भनाइ छ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत साहले आफ्ना साला मानिलाल साहलाई पञ्जीकरण शाखा प्रमुखमा नियुक्त गरेको आरोप पनि स्थानीयले लगाएका छन्। यसले सुशासन, पारदर्शिता तथा निष्पक्ष प्रशासनमाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ।
स्थानीयले यी सबै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।