पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले पछिल्लो समय आफ्नो कार्यसम्पादनलाई अत्यधिक प्रचारमुखी ढङ्गले प्रस्तुत गरेको भन्दै स्थानीय स्तरमा आलोचना हुन थालेको छ। विशेषगरी वीरगञ्जमा दुई समुदायबीच उत्पन्न भएको विवाद समाधानको विषयमा आफूले नै मुख्य भूमिका निर्वाह गरेको जस्तो प्रचार गरिएको भन्दै प्रश्न उठाइएको हो।
स्थानीय सरोकारवालाहरूका अनुसार उक्त विवाद समाधान कुनै एक प्रहरी अधिकृतको प्रयासबाट नभई जिल्ला सुरक्षा समितिअन्तर्गतका सबै सुरक्षा निकायको संयुक्त समन्वयबाट सम्भव भएको थियो । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहाल स्वयं फिल्डमा खटिएका थिए। उहाँसँगै तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, नेपाली सेनाका स्थानीय कमाण्डर लोकेन्द्र कार्की तथा अन्य सुरक्षा अधिकारीहरूले निरन्तर समन्वय, वार्ता र छलफलमार्फत अवस्था सामान्य बनाउन सक्रिय भूमिका खेलेको बताइन्छ।
यद्यपि, पछिल्ला केही सञ्चारमाध्यममा प्रकाशित सामग्रीमा डीएसपी कार्कीलाई केन्द्रमा राखी विवाद समाधानको श्रेय दिइएको देखिएपछि त्यसप्रति असन्तुष्टि व्यक्त हुन थालेको छ। आलोचकहरूको भनाइमा सुरक्षा निकायको सामूहिक उपलब्धिलाई व्यक्तिगत उपलब्धिका रूपमा प्रस्तुत गर्नु उपयुक्त अभ्यास होइन।
स्थानीय नागरिकहरूका अनुसार प्रहरी अधिकृतहरूको मूल्याङ्कन प्रचारका आधारमा नभई अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने क्षमता तथा नागरिकलाई प्रदान गरिएको सेवाका आधारमा हुनुपर्छ। उनीहरूका अनुसार संस्थागत सफलतालाई व्यक्तिगत प्रचारको माध्यम बनाउँदा सुरक्षा निकायप्रतिको जनविश्वासमा समेत नकारात्मक प्रभाव पर्न सक्छ।
यस विषयमा यसअघि जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले डीएसपी कार्कीले प्रचारमुखी गतिविधि गरेको भन्ने आरोप अस्वीकार गर्दै त्यस्तो दाबीमा सत्यता नरहेको बताएका थिए।
डीएसपी राजु कार्कीसँग यस विषयमा थप प्रतिक्रिया लिन प्रयास गरिएको भए पनि समाचार तयार पार्दासम्म उहाँको धारणा प्राप्त हुन सकेको छैन । उहाँको प्रतिक्रिया प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।